काठमाडौं,माघ ५ –
नेपाल मेडिकल काउन्सिलले निजी मेडिकल तथा डेन्टल कलेजहरुमा पूर्णकालीन रुपमा कार्यरत डाक्टरहरुले अन्य अस्पताल, क्लिनिक तथा औषधि पसलमा काम गरे कडा कारबाही गर्ने भएको छ।
काउन्सिलले विभिन्न गुनासा तथा अनुसन्धानका क्रममा केही निजी मेडिकल कलेजमा फ्याकल्टीरशिक्षकका रुपमा पूर्णकालीन काम गरिरहेका डाक्टरहरु दिनभरि अन्य अस्पताल, पोलिक्लिनिक, औषधि पसलमा काम गर्ने गरेको र कलेजमा बोलाएको समयमा मात्र जाने गरेको पाएपछि कडाइ गर्न लागेको हो।
नियम अनुसार कुनै पनि मेडिकल कलेजमा पूर्णकालीन रुपमा आवद्ध चिकित्सकले अन्यत्र काम गर्न पाइँदैन। तर, केही चिकित्सिकहरु फ्याकल्टीका रुपमा एक मेडिकल कलेजमा आबद्ध हुने र सँगसँगै अन्यत्र क्लिनिक तथा औषधि पसलमा समेत काम गरिरहेका छन्। यो विषयमा काउन्सिललाई सम्बन्धित कलेजका विद्यार्थी, अभिभावक, कलेज प्रशासन र नागरिक समाजले जानकारी गराएका हुन्।
काउन्सिलले यसरी अवैध रुपमा अन्यत्र काम गर्ने चिकित्सिकलाई गम्भीर ठगी र सामाजिक अपराधका रुपमा लिएको छ। काउन्लिले त्यस्ता चिकित्सकलाई तत्कालै उक्त कार्य रोक्न सार्वजनिक सूचना नै जारी गरेको छ। ‘एउटा मेडिकल कलेजमा पढाउन प्रतिबद्धता जनाएको शिक्षकले सो अनुरुप कार्य नगर्नु गम्भीर ठगी मात्र नभएर गम्भीर सामाजिक तथा व्यावसायिक अपराध पनि हो,’ काउन्सिलद्वारा जारी सूचनामा भनिएको छ।
काउन्सिलले त्यस्तो कार्य नरोक्ने चिकित्सकलाई सार्वजनिक सूचनामार्फत नाम सार्वजनिक गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।