काठमाडौँ, माघ ५ –
नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ ।
सो दलका स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री थापालाई आज उहाँकै कार्यकक्षमा भेट गरी विगतमा स्वास्थ्य क्षेत्रमा भएका कामलाई निरन्तरता दिन आग्रहसमेत गरेको हो ।
सो अवसरमा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको पहुँचमा आफूले ध्यान दिने उल्लेख गर्दै ध्यानाकर्षणले पनि सहयोग मिलेको बताउनुभयो ।
श्रीमान सचिवज्यू
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय
रामशाहपथ, काठमाण्डौ
बिषयः ज्ञापन पत्र सम्वन्धमा
महोदय,
नेपाली जनताले आशा र अपेक्षाका साथ हेरिरहेको तपाई जनताको स्वास्थ्य जस्तो अत्यन्त सम्वेदनशिल र जनसरोकारको बिषयको रक्षा र उन्नतीको दायित्व बोकेको स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्नुभएकोमा खुसी व्यक्त गर्दछौं । स्वास्थ्य मन्त्रालयको सचिव जस्तो महत्वपूर्ण क्षेत्रमा जिम्मेवारी पाईसकेपछि गुणस्तरीय स्वास्थ्य सेवा, प्रशाशकीय कार्यकुशलता, स्वास्थ्यकर्मीहरूको पेशागत न्याय लगायतका विविध क्षेत्रमा सकारात्मक परिवर्तन आउने अपेक्षाका साथ हामीले तपाईको कार्यकालको सफलताको शुभकामना दिएको कुरा पनि यस अवसरमा स्मरण गराउन चाहन्छौं र आगामी दिनमा त्यस दिशामा ठोस प्रगति हासिल हुने कुराको अपेक्षा समेत राखेका छौं ।
आफ्नो कार्यक्षेत्रमा पेशागत भावनाले प्रेरित भएर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूमाथि गरिने कुनै पनि प्रकारको विभेदपूर्ण व्यवहारले सम्वन्धित क्षेत्रको विकासमा असर पुग्ने मात्र होइन त्यसले सम्वन्धित क्षेत्रलाई कमजोर र अस्तव्यस्त बनाउन पुग्दछ । पछिल्लो समयमा स्वास्थ मन्त्रालयका तर्फबाट भएका सरुवा बढुवा लगायतका कार्यहरूमा राजनीतिक आग्रह र पूर्वाहग्रहको संकेत देखिन थालेका छन् । निश्चित विधि र प्रक्रिया बिना आग्रहपूर्ण तरिकाबाट गरिने कुनै पनि कार्यले संविधान र कानूनकोे मर्म अनुरुप प्रतिफल दिन नसकिने कुरा स्पष्ट छ । स्वास्थ्य मन्त्रालयबाट भएका हरेक कामहरूलाई नेकपा(एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग नजिकबाट नियालिरहेको छ ।
स्वास्थ्य सेवाको सुदृढिकरण र जनताको हितका पक्षमा भएका सुधारका सकारात्मक कदमहरूलाई हामी सम्मान गर्दै आवश्यक सहयोगका निमित्त नेकपा(एमाले) स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख प्रतिपक्ष दलको हैसियतले तयार रहेको जानकारी गराउन चाहन्छौं । तर प्रचलित ऐन कानुन, जनहितविपरित, लोकतान्त्रिक मूल्य, मान्यता विपरित भेदभावपूर्ण व्यवहार भएमा त्यस प्रति हाम्रो तिव्र असहमति र विरोध रहने कुरा पनि स्मरण गराउन चाहन्छौं । विगत केही समययता स्वास्थ्य मन्त्रालयले गरिरहेको कामको सम्वन्धमा स्वास्थ्यकर्मी सदस्यहरू र यूनियनहरूबाट प्राप्त जानकारीका आधारमा कतिपय व्यवहारहरू अन्यायपूर्ण देखिएको हुँदा त्यस्ता कदमहरू अविलम्व रोक्न तथा सच्याउन जोडदार माग गर्दछौं । यसप्रति सचिवज्यूको सकारात्मक सहयोग र भूमिकाको अपेक्षा समेत राखेका छौं ।
सुझाव तथा ध्यानाकर्षणका विषयहरू
१. स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न प्रतिष्ठानहरूमा उपकुलपति, डिन, डाईरेक्टर, रेक्टर र रजिष्ट्रार लगायतका विभिन्न पदहरू रिक्त रहेको र उक्त रिक्त पदहरूमा नियूक्तिका निमित्त विभिन्न प्रक्रियाहरू प्रारम्भ भएको अवस्थामा नियूक्ति गर्दा उक्त संस्थामा रहेका सबै व्यक्ति, समुहलाई एकढिक्का बनाइ संस्थाको उन्नति प्रगति तथा जनहितलाई प्रवर्धन गर्ने योग्य र दक्ष व्यक्तिलाइ गर्ने ।
२. कतिपय संस्थाहरूमा विगतमा तत्कालीन ऐन नियम र प्रचलन अनुसार भएका दक्ष, योग्य इमान्दार व्यक्तिहरूको नियुक्तिलाई अख्तियारको दुरासययुक्त र अनाधिकृत पत्राचारलाई आधार बनाई हटाउने प्रयत्नलाई रोक्नुपर्ने ।
३. मन्त्रालय, बिभाग र अस्पतालहरूमा कार्यरत फरक राजनीतिप्रति आस्थावान ब्यक्तिहरूलाई राजनीतिक आस्थाको आधारमा सरुवा गर्ने जिम्मेवारी विमुख गर्ने जस्ता कार्यहरू अविलम्वन रोक्नु पर्ने ।
४. देशभरका स्वास्थ्यकर्मीहरूलाई आस्थाको आधारमा अपायक हुने पूर्वाग्रहपूर्ण सरुवा गरी स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक प्रभाव पार्नेगरी भएका सरुवाहरू विना पुर्वाग्रह अविलम्व सच्याउनु पर्ने ।
५. आन्दोलित रहेका छैठौं तहका स्वास्थ्यकर्मीहरूलाई ऐनको दफा ९ (ख) बमोजिम जिम्मेवारी सहितको पदस्थापन
गरी स्वास्थ्यकर्मीहरूको मनोवल उच्च गर्न र स्वास्थ्य सेवा प्रवाह प्रभावित हुन नदिन समेत अनुरोध गर्दछांै ।
६. देशभरका कतिपय स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भई स्वास्थ्यसेवा प्रभावित भएको समाचार सार्वजनिक भईरहेको छ । जनताको स्वास्थ्यमा खेलबाड हुने कुनै पनि कार्य कुनै पनि मूल्यमा सम्झौता नगर्न आग्रह गर्दछौं ।
सुजिता शाक्य
केन्द्रिय सदस्य, नेकपा(एमाले) केन्द्रीय कमिटी
प्रमुख, स्वास्थ्य तथा जनसंख्या विभाग
इन्चार्ज, स्वास्थ्य तथा जनसंख्या फाँट