‘राजद्रोही राजनेता’ प्रदर्शन गरिँदै

‘राजद्रोही राजनेता’ प्रदर्शन गरिँदै

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ ।

वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले राससलाई जानकारी दिए । वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गरेका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर सङ्कलन गरिएकाले जीवन्त छ । विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कँदा साथमै रहनुभएका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ । हाल उहाँहरुको निधन भइसके पनि यसअघि नै भनाई लिएको थियो ।

बिपीलगायत नेताहरु मेलमिलापको नीति लिएर फर्कनुअघि उहाँलाई नेपालको राष्ट्रपतिको अफर गरिएकामा देश बचाउन पद कसरी छोडेको भन्ने पनि देखाइएको प्रधानसम्पादक नेपालले बताए । वृत्तचित्रमा भिडियोग्राफी र सम्पादनको काम मानबहादुर थापाले गरेको छ ।

नेपाली कांग्रेसको संस्थापकसमेत रहनुभएका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाकोसमेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फर्कनुभयो र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा देखाइएको छ । नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्डसमेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासकाबीच बिपीले गर्नुभएको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले राससलाई जानकारी दिए ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएकाले नै बिपी राजनेता बन्न सफल हुनुभएको विषयलाई वृत्तचित्रमा देखाइएको छ । मुलुकको सार्वभौमिकता जोगाउन उहाँले उठाउनुभएको जोखिमलाई पनि वृत्तचित्रको विषय बनाइएको छ । आज गौरवका साथ नाम लिइने देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले देखाएको छ । ऐतिहासिक पात्रकै माध्यमबाट त्यसबेलाका घटना दर्शकले हेर्न सक्ने भएका छन् ।

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको सदस्य सचिव कोइरालाले बताए । अल थ्री मिडियाका बीचमा १२ वटा वृत्तचित्र बनाउन सहमति भएको छ । विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ । लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको अन्वेषण न्युज डटकमले जनाएको छ ।

फाउन्डेसनले अन्वेषण न्युज डटकमको सहकार्यमा वृत्तचित्र निर्माणलाई अघि बढाएको हो । इतिहासजस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुकसँग आह्वान गरेको छ ।

‘राजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुङ्गा’ वृत्तचित्र तयार गरी सम्पादनको अन्तिम चरणमा रहेको जनाइएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचित्र निर्माणको तयारी गरिएकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

‘राजद्रोही राजनेता’ हेरेपछि पूर्वमुख्यसचिव लीलामणि पौडेलले इतिहास संरक्षणमा यस्ता वृत्तचित्रले महत्वपूर्ण काम गर्ने बताएको छ । ‘राजद्रोही राजनेता’ प्रजातन्त्र दिवसको अवसर पारेर फागुनको अन्तिम दिन आज सिटी सेन्टरमा प्रदर्शन सुरु गरिने फाउन्डेसनले जनाएको छ । प्रदर्शनीमा नेपाली कांग्रेसका नेताहरुको सभागिता रहने जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका