Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

काठमाण्डौ । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउनुहुन्छ ।

उहाँ भने, “माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्छन” । ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति रु ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ । डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताए ।

मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको उहाँले बताए । अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए ।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउनुहुन्छ तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । “एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ”, अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।

श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनको काम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ ।

यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ । करिव ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ