-रमेश थामी
रमाइलो पल,
रमाइलो क्षण,
तीतो तर जिन्दगीकै विस्मरणीय क्षण
भालेको डाँकोमा,
एक कुम्लो कोसेली बोकी
हनिन्छ अपरिचित अजनवी
अनिश्चित गन्तव्य- दूर दराजमा,
केही गर्ने सोचले तर विडम्वना
असारे याम, सिमसिमे पानी
तप्पतप्प थोपा,
कहीँ छचल्केर पोखिन्छन,
कहीँ फुटिदिन्छन फोकाहरू
प्वाट्ट-प्वाट्ट, बिलाइहाल्छन्
उसको गन्तव्य हो गगन चुम्ने,
चुचुरोले कुरिरहेछ उसलाई
डाकिरहेछ बतासका वेगले
तर,
विडम्वना
लामो यात्रा, यत्र-तत्र
पथिकहरू वाल्ल ट्वाल्ल
ओहो!, आहा! उहु! गर्दै
कानेखुसी गर्छन्, मनैमा सोच्छन्
हेर त चेपागाँडा चुचुरो चड्न हिडेको,
यसको न खुट्टा छ, न हात नै
खै केके भन्छन्, केके
कर्णफुसफुसमा खासखुस गर्छन
गिज्याउँछन्, जिस्क्याउँन्, डाहा गर्छन्,
अनि कोतारेर खुट्टा तान्न खोज्छन्
काँडाका झ्याङहरूले, बुट्टा अनि पोथ्राहरूले,
कहीँ हरिया-हरिया लेऊले, सुत्त चिप्लिने
भाग्यवश!
त्यो चेपागाँडा त बहिरो छ
उसले कसले के भन्यो सुन्दैन,
मूख चलाएको देख्छ तर बुझ्दैन
लाग्छ प्रशंसा गरिरहेछ,
अनि लम्किरहेछ, गन्तव्यतिर
मनभरि संकल्प साँचेर
सगरमाथा पुगी गगन चुम्ने
धोको छ उसको एउटा,
सफलताको झण्डा फर्फराउने,
कहीँ आगनको डिलबाट
कहीँ बारीका छेऊबाट
बेवारिसे कुकुरहरू भुक्छन्
लाग्छ उसलाई
मेरो अघिपछिका स्यालहरू धपाइदिँदै छ।
यिनीहरू त मेरो बाटो खालि गरिदिने
मेरै रक्षकहरू हुन्,
भुक कुकुर भुक, म अगाडि बढ्छु भुक
लम्कन्छ, अनि लम्कन्छ,
आजको बहिरो चेपागाँडा,
भोलिको सफल पाहा !
आहा ! आहा ! आहा !
कविता रमेश थामीलाई सामाजिक संजालमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।