घाम डुब्ने
पश्चिम डाडाभन्दा फरक ठाउँबाट
बादल लुक्ने
क्षितिजभन्दा अलग क्षितिजबाट
उनी अस्ताएर गए
सबैको मनको आकाशमा उदाइराखेर !
उनले यति कुरा बिर्सिए कि
आफूले हिडदैगरेको आधा बाटो,
गाँस चुडाउँदाचुडाउँदैको आधा ढिँडो,
कोर्दाकोर्दैको बाँकी चित्र,
बुन्दाबुन्दैको आधा तान,
रङ्ग पोत्दापोत्दैको आधा ‘क्यान्भास’,
लेख्दालेख्दैको अपूरो गीत,
खिप्दाखिप्दैको अधुरो कविता
अनि सिफर्् उनले नबिर्सनुपर्ने
एउटा कुरा बिर्सिए
फेर्दाफेर्दैको श्वासलाई फेर्न
र आफनै धड्कनमा धड्किरहेको
आफ्ना छोराछोरी
मुटुमाथि उफ्रिरहेका परिवार
र
उनले अलिकति बाटो मोडे,
उप्रान्त कुनै विहानीमा
पूर्वबाट नउदाउने गरी
अनन्त यात्रामा निस्किएका छन् ।
यसरी अलिकति–हतारमा,
केही हतास र भावावेशमा
एक फरक यात्रा तय गरेका
चित्रकारलाई भेटेपछि
भनिदिनुहोला–
ए ! जून,
तिमीले गर्दागर्दैको
सम्पूर्ण कामहरु अपूरै छन्
तर
अपूर्ण हुँदाहुँद पनि पूर्ण सुन्दर छन्
जसरी आधा जून
सबैभन्दा सुन्दर देखिन्छ आकाशमा ।
त्यस्तै उनले लड्दालड्दै
छोडेको पहिचानको लडाइँ,
परिवर्तनको रङ,
बिश्वकला र साहित्यको यात्रा
सबैसबै …
अपूर्ण भएर नै पूर्ण सुन्दर रहनेछन् पृथ्वीमा !
(कलाकार तथा साहित्यकार अर्जुन खालिङप्रति समर्पित, सेप्टेम्बर १९, २०१८)
साभार : सुन्म्यासङ