गाउँले न्यूज, ५ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी लगानीकर्ताले यहाँ लगानी गरे मुनाफा फिर्ता लैजाने कुराको सरकारले ग्यारेन्टी गर्ने बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुँजी सुरक्षा र मुनाफालाई सुरक्षित रुपमा आफ्नो देशमा लैजाने कुराको प्रत्याभूति गर्न सरकार तयार रहेको बताए ।
बैठकमा उद्योग मन्त्री मात्रिका यादवको तर्फबाट ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ माथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संविधान र ऐनहरूले नै निजी सम्पत्तिको प्रत्याभूति गरेको स्मरण गरे । संसदबाट हालै पारित उधोगी व्यावसायी, सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्डसँग सम्बन्धित ऐनहरूमा पनि मुनाफा कमाउन पाउने कुराको सुनिश्चित गरेको बताए ।
लगानीकर्ताले लगानी अनुसारको फाइदा, सुरक्षा, फाइदा आफ्नो देशमा लैजान सकिने अवस्था, विवाद पर्दा अदालतले गर्ने व्याख्या र प्रष्ट श्रम कानून भए नभएको विषयमा संसदमा प्रश्न उठाएका थिए ।