१ फागुन, काठमाडौं । नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका नेपालीले विदेशमा पनि सवारीसाधन चलाउन पाउने भएका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ नयाँ बनाउने तयारीमा विभाग छ। २६ वर्ष पुरानो ऐनलाई संघीय संरचनाअनुसार बनाउन लागिएको हो। मुलुक संघीय व्यवस्थामा सञ्चालन भएसँग विभागको मातहत रहेको धेरै अधिकार प्रदेशमा समाहित भएको छ।
यातायात व्यवस्था विभाग भने संघीय सरकारको मातहतमा सञ्चालन हुनेछ। नयाँ बन्ने ऐनमा नेपाल लाइसेन्स धारकले विदेशमा पनि गाडी चलाउने पाउने व्यवस्था राख्न खोजेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
‘नेपाली लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा मान्य हुँदैन। विदेशमा सवारीसाधन चलाउन त्यहीँको लाइसेन्स आवश्यक पर्छ। सवारी चलाउन योग्य हुँदा पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइसेन्स नभएका कारण सेवाग्राही सुविधा पाउनबाट बञ्चित छन्।’ अब बन्ने नयाँ ऐनले विदेश सवारीसाधन चलाउन चाहाने नेपाली लाइसेन्स धारकलाई सहज हुने उनले बताए।
विदेशमा गाडी चलाउन इच्छुक सेवाग्राहीका लागि अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट (आईडीपी) जारी गर्न लागिएको हो। आईडीपी लाइसेन्स नभई सवारी चलाउने इजाजतपत्र मात्र हो। हालसम्म नेपालबाट आईडीपी जारी हुने गरेका छैन। तर आईडीपी धारकले नेपालमा भने सवारी चलाउन पाउँछन्। आईडीपी हासिल गरेका व्यक्तिले विश्वका विभिन्न एक सय ३५ देशमा सवारी चलाउन पाउँछन्। हालसम्म विश्वका एक सय ११ मुलुकले आईडीपी इजाजतपत्र जारी गर्दै आएका छन्।
यी दुईमध्ये एउटा अभिसन्धी पास गरे एक सय ३५ मुलुकमा नेपाली लाइसेन्स धारकले आईडीपी लिएर सवारी चलाउन पाउने यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। तर, आईडीपी लिएका चालकले व्यावसायिक प्रयोजनका सवारीसाधन भने चलाउन पाउँदैन। यो निजी सवारीसाधन चलाउने प्रयोगका लागि मात्र जारी हुन्छ। यसले अध्ययन, व्यापार, भ्रमण भिसामा विदेश जानेका लागि उपयुक्त हुन्छ। आईडीपीको म्याद एक वर्षसम्म हुन्छ। एउटा देशका लागि लिइएको आईडीपी अन्य मान्य हुँदैन। आईडीपी लिने व्यक्तिले आफू जान लागेको देशको सम्बन्धित कागजात, नेपाली लाइसेन्स बुझाएर ट्राफिक नियमबारे तालिम लिनुपर्छ।
विश्वका ८० प्रतिशतभन्दा धेरै मुलुकमा यातायातसम्बन्धी काम गर्ने संस्थाले आईडीपी जारी गर्ने गरेको गजुरेलले जानकारी दिए। ती संस्थालाई फेडरेसन इन्टरनेसनल डी अटोमोबाइल (एफआईए)ले तालिम तथा आवश्यक सेवा सुविधा प्रधान गर्दै आएको छ।