बैशाख/सोलुखुम्बु समाचार – पत्रकारका रुपमा परिचय बनाएका नुतन श्रेष्ठले पहिलो गीत बजारमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारेर शनिबार सांसद बुद्धिकुमार राजभण्डारीले श्रेष्ठको गीत बिमोचन गरे ।
“सोलु खोला तरेर आज” बोलको गीत सार्वजनिक गर्दै सांसद राजभण्डारीले बहुमुखी प्रतिभाको धनी नुतन श्रेष्ठलाई सांगीतिक क्षेत्रमा पनि सफलताको शुभकामना गरे । उनले आफू नुतनको आवाजको प्रशंसक भएको बताउँदै स्व. सुधिर बहुमखी प्रतिभा भएको व्यक्ति रहेको बताए । बिमोचन कार्यक्रममा योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले नयाँ पुस्ताले फरक र राम्रो काम गर्दा आफूहरुको खुशीको सिमा नरहने बताए । उनले प्रयास राम्रो रहेको भन्दै योङ्ग स्टार क्लव सदा सदस्यहरुको हितमा समर्पित रहेको बताए ।
बिमोचन कार्यक्रममा गायक श्रेष्ठले आफ्नो पहिलो प्रयासलाई हौसला प्रदान गर्दै सुझाब दिन आग्रह गरे । सामुदायिक रेडियो सोलु एफएममा समाचार प्रमुखको रुपमा “बोल्ड आवाज” दिँदै श्रोताको मनमुटुमा बस्न सफल श्रेष्ठ अहिले सोलु एफएमको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।
नुतनले पहिलो पटक आफ्नो आवाजमा रेकर्ड गराएको “सोलु खोला तरेर आज” मा स्व. सुधिर प्रधानको शब्द र जसिहाङ राईको संगीत रहेको छ ।
नुतन भन्छन् “यसरी बन्यो सोलु खोला तरेर आज”
दार्जिलिङवाट सोलुखुम्बुलाई कर्मथलो बनाउन आएका सुधिर प्रधान गीतारका पोख्त कलाकार थिए । आवाजका समेत धनी प्रधान अंग्रेजी गीत राम्रो गाउँथे । अंग्रेजी गीत सुन्न र गितार सिक्न नुतन सहित केही युवा हरेक शुक्रबार नयाँ बजारमा भेला हुन्थे ।
एक शुक्रबार सुधिरले गाएको गीत नुतनलाई मन पर्यो तर गीतको भाषा उनले बुझेनन् । पछि थाहा भयो गीत नेपाली नै रहेछ । गीतको बोल थियो “सोलु खोला तरेर आज” ।
नुतनले गीत मन परेको कुरा बताएपछि सुधिरले ख्याल ख्यालैमा भने “यो गीतको तिमी गायक, म शब्द र संगीतकार” । त्यस पछि पटक पटक सोही गीतकै लागि उनीहरुले रात बिताए । साथी भाईको सामान्य जमघट हुँदा गाउन थालियो “सोलु खोला तरेर आज” । “मैले पुरै गुन्गुनाएको गीत यहि हो” नुतनले भने ।
समयक्रममा गाउने र जमघट हुने क्रम पनि रोकियो, सुधिर प्रधानको मृत्यु भयो । सुधिरको मृत्युपछि नुतनको मानसपटलमा “सोलु खोला तरेर आज” झनै ताजा बनिरह्यो ।
गीत रेकर्ड गर्ने भन्दा भन्दै सुधिरको मृत्यु भएकाले आफ्ना सांगीतिक गुरु प्रति गीत रेकर्ड गरेर सम्मान व्यक्त गर्ने सोचाई नुतनले बनाए । फलस्वरुप शब्दमा सामान्य परिवर्तन गरी संगीतकार जसिहाङ राईको संगीतमा जन्मियो “सोलु खोला तरेर आज” ।