सोलुखुम्बुका युवाको फुटबल संघर्ष – राष्ट्रिय टिमको सपना

सोलुखुम्बुका युवाको फुटबल संघर्ष – राष्ट्रिय टिमको सपना

जेठ २०७५/सोलुखुम्बु समाचार – टेलिभिजनमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको खेल हेर्दा त्यस्तै खेलाडी बन्ने सपना देख्ने सोलुखुम्बुका अमिर केसी यतिखेर तिनै खेलाडीहरुसँग एउटै टिमवाट फुटबल खेलिरहेका छन् । बिराज महर्जन, अन्जन बिष्ट, सुजल श्रेष्ठ लगायत्का आफ्ना आदर्शवान खेलाडीहरुसँग एउटै टिममा मनाङ मस्र्याङदी क्लववाट खेल खेलिरहेका केसीको सपना यतिखेर राष्ट्रिय टिममा डेब्यु गर्नु रहेको छ ।

 IMG_9774

ए डिभिजन क्लव मनाङ मस्र्याङदीवाट फुटबल खेल्न उदयपुरमा रहेका अमिर विगत डेढ बर्षदेखि मनाङमा आबद्ध छन् । त्यस अघि एक बर्ष एपिएफ क्लवमा आबद्ध भई तालिम लिएका अमिरले मनाङको सिनियर र जुनियर दुवै टिमवाट खेल्ने मौका पाएकाछन् । टिममा मिड फिल्डरको भूमिका निर्वाह गर्ने अमिर छरिता र टेक्निकल खेलाडीको रुपमा परिचित छन् ।

“फुटबलमै मेहनत र दुख गरेको छु, मेरो भबिष्य नै फुटबल हो” अमिरले भने । सोलुखुम्बुमा योङ्ग स्टार क्लववाट फुटबल खेल्ने अमिर फुटबलको पहिलो खुडकिला योङ्ग स्टार क्लव नै भएको बताउँछन् । सोलुखुम्बुमा आफ्नो घरको आँगनमा नै सुबिधा सम्पन्न फुटबल मैदान छ, त्यही मैदानले आफूलाई अहिलेसम्मको यात्रा तय गर्न सहयोग गरेको उनले बताए ।

मनाङको सिनियर टिमवाट पुरै समय खेल खेल्न नपाएपनि सिनियर खेलाडीहरुसँगको संगतले धेरै कुरा सिकेको उनले बताए । उनले सिनियर टिमवाट २०, ३० मिनेट खेल्ने अवसर पाएकाछन् । तर मनाङ मस्याङदी जस्तो क्लववाट खेल्न पाउनु उनले आफूलाई भाग्यमानी सम्झेका छन् । देश बिदेशमा खेलिसकेका खेलाडीहरुसँगको उठबसले थप मेहनत गर्न प्रेरणा मिलेको अमिर बताउँछन् । “राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नाम कमाएका खेलाडीहरुसँग खेल्ने मौका मेरो लागि सबैभन्दा ठूलो कुरा हो” अमिर भन्छन् । मनाङमा मात्रै नेपालका सात जना राष्ट्रिय खेलाडीहरु आबद्ध छन् ।

IMG_9773

मनाङवाट पहिलो खेल बुटवलमा खेलेका अमिर खेल खेल्नकै लागि बंगलादेश, सिक्किम लगायत्का ठाउँमा पनि पुगेका छन् । अमिर भन्छन् “बिदेशी भूमिका नेपाली क्लवको जर्सी लगाएर खेल्नुको आनन्द बेग्लै छ ।”
अमिरका बुबा सुर्यबहादुर केसी कुनै समय सोलुखुम्बुका चर्चित भलिबल खेलाडी हुन् । क्षेत्रीय स्तरको भलिबल समेत खेलेका सुर्यबहादुर “देब्रे केसी” को रुपमा परिचित थिए । अमिरका भाई अर्पण केसी पनि खेलमा रुचि राख्छन् ।

IMG_9775 1

“परिवारकै रगतमा खेल छ, अब दुई तीन बर्षमा राष्ट्रिय टिमको जर्सीमा मैदानमा उत्रन पाइन्छ कि भन्ने आशा छ, मेहनत गरिरहेको छु” १९ बर्षिय अमिरले आशावादी हुँदै भने । “राष्ट्रिय टिमको जर्सीमा मैदानमा उत्रेको दिन मेरो सपना साकार हुनेछ, मेरो मात्रै होइन मेरो बुबा आमाको सपना पनि साकार हुनेछ” अमिरले भने । घरपरिवारदेखि टाढा बसेर, पढाई छाडेर खेलमा लाग्नु आफ्नो लागि नमिठो क्षण भएपनि खेलमा पाइरहेको सफलताले अमिरलाई नमिठा क्षणहरु बिर्सन मद्दत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका