कैलाली,पुस १०-
राईको सुगम जिल्ला मानिने कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन् ।
सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्याएपनि बजेट नपठाउँदा मोहन्याल जोड्ने सडकको काम सुस्त भएको हो । दुर्गम र विकट मानिएको जुम्ला, हुम्ला, बाजुरामा सडक पुगीसके पनि तराईको सुगम जिल्ला मानिने कैलालीको बिकट पहाडी गाविस मोहन्यालमा अहिले सम्म सडक सञ्जालमा जोडिन सकेको छैन ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट ६० किलोमीटरको दूरीमा रहेको मोहन्यालको २१ किलोमीटर सडक २२ वर्ष बित्दा पनि पूरा भएको छैन । सडक निर्माणको माग राखेर दुई दशक देखि स्थानीयवासी जिल्ला विकास समितिमा धाईरहपनि अहिलेसम्म कसैले चासो नदिएको पूर्व गाविस अध्यक्ष खड्कबहादुर बुढामरको गुनासो छ ।
द्धन्दकालमा माओवादीको आधार ईलाका मानिने मोहन्यालका जनतालाई माओवादीले सत्तामा पुगेर चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि मोहन्याललाई बेवास्था गरेको स्थानीयको आरोप छ । स्थानीय पदम देउवाले सडक सञ्जालमा नजोडिदा मोहन्याल कैलालीका अन्य गाविस भन्दा निकै पछि परेको बताउनुभयो ।