चितवन, पुस ९–
रत्ननगर–५ मनहरामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारणसभा आज (शनिवार) सम्पन्न भएको छ ।
मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वनका अध्यक्ष अशोकप्रसाद चौधरीले भावी कार्यक्रम, लेखा संयोजक कृष्ण कुमार पौडेलले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा संयोजक पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा यस वर्ष वनले १ करोड ३४ लाख ८७ हजार ६ सय ५९ रुपैया आम्दानी गरेको उल्लेख छ ।
हात्ती प्रवेश,डुङ्गा संचालन,काठ बिक्री लगायतबाट वनले सो आम्दानी गरेको हो । आम्दानी अनुसार वनले सामुदायिक विकास, पर्यापर्यटन प्रर्वद्धन,वन व्यवस्थापन लगायतमा खर्च गरेको छ । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी, रेष्टुरेन्ट एण्ड बार एसोसियसन रेवानका अध्यक्ष लालबहादुर भट्ट, एमाले वडा न ५ की सचिव रिता थापा, बाबा चित्रसेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम कुमार थपलिया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वनका अध्यक्ष अशोकप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।