Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दियालो बंगलामा सिटी सेन्टर बन्ने , ५७ बिघा जमिनमध्ये ६ बिघा भाडामा – Gaule Khabar

दियालो बंगलामा सिटी सेन्टर बन्ने , ५७ बिघा जमिनमध्ये ६ बिघा भाडामा

दियालो बंगलामा सिटी सेन्टर बन्ने , ५७ बिघा जमिनमध्ये ६ बिघा भाडामा

चितवन,पुस ५-

कुनै बेला राजा वीरेन्द्रको निजी सम्पतिका रुपमा रहेको नारायणगढ आँपटारीको दियालो बंगला क्षेत्रमा निजी कम्पनीले चारसयवटा सटरसहितको व्यपारिक क्षेत्र बनाउने भएको छ ।

सो क्षेत्रमा अहिले निर्माणको काम सुरू भएको छ । जनआन्दोलन सफल भएपछि माओवादीसँग शान्ति सम्झौता गरे पश्चात जारी भएको नेपालको अन्तरिम संविधनले तत्कालीन राजा वीरेन्द्रको निजी सम्पति नेपाल ट्रष्ट खडा गरेर राख्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला क्षेत्रको ५७ विघा जमिनमध्ये छ बिघा जमिन निजी क्षेत्रले भाडामा लिएको हो ।

दियालो बंगला क्षेत्रमा राजा महेन्द्र दिवंगत भएको पुरानो दरबार पनि छ । ट्रष्टले दरबार र त्यस वरपर नभएर त्योभन्दा अलग्गै रहेको छ विघा जग्गा लिजमा लगाउन गएको वैशाख १८ गते बोलपत्र आह्वान गर्दै सूचना निकालेको थियो । सो सूचनापछि भरतपुर उपमहानगरपालिकासहित १३ वटा निवेदन परेको थियो ।तर, सबैभन्दा बढी भाडा बुझाउन तयार कसरा जंगल रिसोर्टलाई टेण्डर प¥यो ।

सरकारले नेपाल ट्रष्ट ऐन नै जारी गरेको छ । विसं २०६४ सालमा जारी सो ऐनको दफा १३ मा ट्रष्टको जग्गा बिक्री वितरण र भोगाधिकार प्रदान गर्न प्रतिबन्ध लगाएको छ । तर, विसं २०६५ सालमा आएको ट्रष्टको निर्देशिकाको नियम छ को उपनियम ‘क’ र ‘ख’ मा आयआर्जनका लागि व्यपारिक वा अन्य प्रयोजनका लागि जग्गा भाडामा लगाउन वा लिजमा दिन पाउने व्यवस्था छ ।

‘ऐन नियममा व्यवस्था भए बमोजिम नै खाली जग्गा उपयोग गरेर आयआर्जन लिन खोजेको हो । नियम अनुसार जाँदा बढी रकम कबोल गर्नेलाई नै लिजमा दिनुपर्छ । हामीले त्यही गरेको हो’ नेपाल ट्रष्टका प्रवक्ता लेखबहादुर कार्कीले भने ।कसरा जंगल रिसोर्ट प्रालिले वर्षको २५ लाख रूपैयाँ भाडा तिर्ने गरेर जग्गा प्राप्त गरेको हो । तर, सो रिसोर्टले थप दुई लाख रूपैयाँ लिने गरेर कसरा नारायणी सिटी सेन्टर प्रालिसँग पूर्वाधार निर्माण र जग्गा उपयोगको सम्झौता गरेको छ । कसरा नारायणी सिटी सेन्टर प्रालिले सो क्षेत्रमा सटर निर्माणको काम सुरू गरेको छ ।

सिटी सेन्टरले व्यवसायिक प्रयोजनका लागि चार सयवटा सटरहरु बनाउने सञ्चालक दिनेश चुकेले बताए । त्यस्तै, चारवटा रेष्टुरेन्ट, बालउद्यान र २२ सयजना अट्ने सभा हलसमेत बनाउने योजना रहेको चुकेले बताए । ‘हामी नक्सा पास पूरा गरेर चाँडै नै निर्माण सम्पन्न गरी व्यवसायिक क्षेत्र सञ्चालनको तयारीमा छौं’ चुकेले भने ।

नेपाल ट्रष्टले सो जग्गा व्यवसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई भाडामा दिएपछि भरतपुर उपमहानगरपालिका कार्यालय भने विरोधमा उत्रेको छ । ट्रष्टले टेण्डर निकालेर सबैभन्दा बढी भाडा बुझाउनेलाई जग्गा पाँच वर्षका लागि लिजमा दिएको हो । भरतपुर उपमहानगरपालिका पनि टेण्डरमा सहभागी भएको थियो ।

भाडा रकम कम भएकै आधारमा उपमहानगरपालिकाले जग्गा नपाएको ट्रष्टका अधिकारीहरु बताउँछन् । ‘टेण्डर बढाबढ गरेर जग्गा लिने हैसियत हामीसँग पुगेन । तर, ट्रष्टले निजी क्षेत्रलाई भन्दा हामीलाई जग्गा दिनु उत्तम हुने छ भन्ने हाम्रो अनुरोध हो’ उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले भने ।

‘जनता’लाई नजिकबाट सेवा दिनुपर्ने निकाय उपमहानगरपालिका भएका कारण टेण्डर स्वीकृतिको निर्णय रद्द गरेर दिर्घकालीन लिजमा सो जग्गा उपमहानगरपालिकालाई उपलब्ध गराउन अनुरोध गर्दै कार्यकारी अधिकृत बरालले पुस १ गते ट्रष्टको कार्यालयमा निवेदन दिएका छन् । तर, त्यस्तो निवेदन आफूहरु कहाँ नआइ पुगेको नेपाल ट्रष्टका प्रवक्ता लेखबहादुर कार्कीले बताए ।

कानुनीरुपमा उपमहानगरपालिकलाई जग्गा दिन नेपाल ट्रष्ट बाध्य नभएको कार्यकारी अधिकृत महेश बरालल नै स्वीकार गर्छन् । ‘छोटो समयका लागि नभएर २०÷२५ वर्षमा नै लिजमा लिएर स्टेडियमलगायतका सुन्दर सहरका लागि आवश्यक हुने पूर्वाधारहरु बनाउन खोजेको हो । जिल्लाका दलहरुको पनि यही मान्यता भएकाले ट्रष्टमा आग्रह गरेका हौं’ बरालले भने ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका