काठमाडौं, मंसिर २५–
राष्ट्रिय मृगौला पीडित संघ नेपालद्धारा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ ।
शनिबार संघले विशेष कार्यक्रम आयोजना गरि उनलाई सम्मान गरेको हो । काठमाडौंको जोरपाटीमा भएको कार्यक्रममा पत्रकार धमलाले राष्ट्रिय मृगौला पीडित संघ नेपालका संस्थापक अध्यक्ष स्व. चिन्तामणि पोखरेलबाट जीवनको अन्तिम घडीसम्म नेपालका सम्पूर्ण मृगौला रोगीहरुका लागि राज्यले निःशुल्क डाईलाईसिस लगायतका सेवाहरु उपलब्ध गराउन माग राखी सञ्चालन गरेको आन्दोलनमा विगत ७ वर्षदेखि निरन्तर सहभागी भएको र अग्रणी भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्वराज्यमन्त्री मेघराज निषादले पत्रकार धमलाले खेलेको भूमिकाको प्रशंसा गर्दै भने,‘मृगौला पीडितहरुको समस्या समाधानको लागि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ, यो सबैलाई राम्रोसँग थाहा भएको कुरा हो ।’
उनले यो मुभमेन्टमा पत्रकार धमलाले सुरुवातीदेखि नै साथ दिएकोले आज माग पूरा भएको स्पष्ट पारे । उनले मृगौला पीडितहरुको लागि पत्रकार धमला प्रेरणाको स्रोत अनि भगवान भएको चित्रण गर्दै खुलेरै प्रशंसा गरे ।
सम्मानित भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले आफू निकै खुशी रहेको प्रतिक्रिया दिए । उनले आफू आजिवन गरिब, असहाय, रोगी र पीडितहरुको पक्षमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।