Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा जाडोमा पनि डेंगुको त्रास, यही मंसिरमा ३६ जनामा देखियो – Gaule Khabar

चितवनमा जाडोमा पनि डेंगुको त्रास, यही मंसिरमा ३६ जनामा देखियो

चितवनमा जाडोमा पनि डेंगुको त्रास, यही मंसिरमा ३६ जनामा देखियो

किशोर खनाल

चितवन,मंसिर २५-
हिउँदको समयमा पनि चितवनमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जाडोसँगै डेंगुका बिरामीको संख्या घटे पनि जनमानसमा त्रास भने हटिसकेको छैन ।

‘जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यही मंसिर महिनामा मात्र ३६ जनालाई डेंगु ज्वरो आएको पाइयो’ जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए । जाडो मौसम सुरू भए पनि डेंगु पूरा नियन्त्रणमा आइसकेको छैन ।
यही वर्ष साउनदेखि यता जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार ६ सय ८७ जनामा डेंगु फेला परेको थियो । सबैभन्दा बढी डेंगुका बिरामी कार्तिक महिनामा फेला परेका जनस्वास्थ्य कार्यालयले जनाएको छ । गएको कार्तिक महिनामा मात्र ४२८ जनामा डेंगु रोग देखिएको थियो ।

‘मंसिर महिना लागेपछि डेंगु लागेका बिरामीहरु घटेका छन् । अब जाडो महिना सुरू भएको छ । क्रमशः घट्दै जान्छ’ निरीक्षक केसीले भने । मंसिर महिनामा पनि केही बिरामी भेटिएकाले डेंगु लाग्दैन भनेर ढुक्कसँग बस्न सक्ने अवस्था आइनसकेको निरीक्षक केसीको भनाइ छ ।
रत्ननगर नगरपालिकामा डेंगुका बिरामी बढी भेटिएका थिए । साउन महिनामा एकजना पनि डेंगु रोगी भेटिएनन् भने भदौ महिनामा ६ जनामा डेंगु देखापरेको थियो । तथ्याङ्कअनुसार गएको असोज महिनामा २१७ जनामा डेंगु रोग देखिएको थियो ।

‘गत वर्ष ८५ जनामात्र डेंगुका बिरामी थिए । यस आर्थिक वर्ष लागेयता डेंगुका बिरामी ह्वात्तै बढेका हुन्’ निरीक्षक केसीले भने, ‘जाडो पनि लाग्यो, चिसो बढिरहेको छ । अब नियन्त्रणतर्फ गएकोे छ । जाडो मौसममा डेंगु सार्ने लामखुट्टे सक्रिय हुँदैनन् । डराउनपर्ने अवस्था छैन ।’
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगु रोगबाट बच्ने मुख्य उपाय हो । डेंगु रोगविरुद्ध कुनै खोप छैन । खास उपचार पनि छैन । तर बिरामीमा देखिएको लक्षणअनुसार उपचार गरिन्छ । डेंगु ज्वरोको प्रकोपबाट संसारमा करिब ५ करोड मानिस प्रभावित हुन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ