नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरूले प्रदान गर्ने मोबाइल सेवाको गुणस्तर कमजोर भएको नेपाल दूरसञ्चार प्राधिकरणको एउटा प्रतिवेदनले जनाएको छ।
भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा गरिएको गुणस्तर परीक्षणअनुसार अधिकांश नेपाली उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर कमजोर देखिएको हो। सो प्रतिवेदन गत हप्ता सार्वजनिक भएको हो।
कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैँ कल काटिने दरलाई हेर्दा ती कम्पनीहरूले तोकिएका मापदण्डहरू पूरा गरेको देखिँदैन।
बारम्बार मोबाइल सेवाको गुणस्तर कमजोर रहेको भन्ने उपभोक्ताको गुनासो आइरहेका बेला प्राविधिक परीक्षणले पनि त्यसलाई पुष्टि गरेको अधिकारीहरूको दाबी छ।
यसले ‘उपभोक्तालाई गुणस्तरीय सेवा दिन मोबाइल सेवाप्रदायक ‘असफल भएका’ र उनीहरूले ‘तत्कालै सुधार गर्नुपर्ने’ अधिकारीहरूको तर्क छ। तर सबैभन्दा धेरै सेवाग्राही भएका कम्पनीहरूको गुणस्तर किन कमजोर देखियो भन्नेबारे भने उक्त प्रतिवेदनमा केही पनि उल्लेख छैन।
कारण के हुन्?
अधिकारी र विज्ञहरूका भनाइमा मोबाइल सेवाको गुणस्तर कमजोर देखिनुमा विभिन्न कारण छन्।
ती कारणमा टावर र अन्य पूर्वाधारमा कमसल उपकरणको प्रयोग हुनु, बढ्दो उपभोक्ता सङ्ख्याअनुसार क्षमता वृद्धि नगरिनु, नेटवर्क प्रवाहमा रोकावट गर्ने खालको भूगोल, गुणस्तर कायम गराउन कडा कारबाही नहुनु छन्।
प्राधिकरणका भूतपूर्व अध्यक्ष भेषराज कँडेल भन्छन्, “मर्मत-सम्भार र स्तरोन्नति नहुँदा नेपालमा मोबाइलको गुणस्तर सुधार नभएको हो। साँघुरो सडकबाट धेरै सवारी साधन कुदाउँदा जसरी सडक जाम हुन्छ त्यसरी नै अहिले मोबाइल सेवा पनि जाम हुन थालेको छ।”
उनी सरकारी स्वामित्वको नेपाल टेलिकमले झन्झटिला र पूरा गर्न लामो समय लाग्ने नियमहरूका कारण समयमा स्तरोन्नति नगरेको ठान्छन्।
त्यस्तै पुँजीगत लाभकर विवादपछि एनसेलले समेत खासै स्तरोन्नतिमा ध्यान नदिएको उनको दाबी छ।
कँडेल भन्छन्, “कम्पनीहरूले स्तरोन्नतिलाई महत्त्व नै दिएनन्। त्यसले गर्दा अहिलेको समस्या देखिएको हो।”
मापदण्डहरू विकसित मुलुकको आधारमा बनाउनु तर तदनुरूप पूर्वाधार विकास नगरिनु पनि उनी मोबाइलको गुणस्तर कमजोर देखिनुको एउटा कारण भएको उनको बुझाइ छ।
प्राधिकरणका अधिकारीहरू कँडेलको भनाइलाई अस्वीकार गर्दैनन्।
विशेषत: सहरी क्षेत्रमा बढ्दो उपभोक्ता सङ्ख्यानुसार क्षमता बढाउन कम्पनीहरूले चासो नदेखाउँदा यो समस्या आएको हुनसक्ने उनीहरूको अनुमान छ।
सहरमा अग्ला भवनहरू बन्ने क्रम बढेको र त्यसअनुसार टावरको उचाइ नमिल्दा पनि समस्या देखिएको अधिकारीहरू बताउँछन्।
एउटा कम्पनीले आफ्नो सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा कल गर्दा सहजै बाटो नदिने चलनले पनि समस्या निम्त्याएको केहीको तर्क छ।
यसलाई प्राविधिक भाषामा ‘इन्टरकनेक्शन कन्जेशन’ भन्ने गरिन्छ।
नियमानुसार त्यस्तो गर्न नमिल्ने भए पनि कम्पनीहरूले त्यस्ता गतिविधि गरिरहेको बताइन्छ।
लोडशेडिङ भएका बेला कम्पनीहरूले टावरमा विद्युत् आपूर्तिमा समस्या भई मोबाइल कलको गुणस्तर कमजोर भएको बताउने गरेका थिए।
तर लोडशेडिङ हटेको लामो समयसम्म पनि कम्पनीहरूले गुणस्तर सुधार नगर्नुलाई कतिपयले उपभोक्ताप्रति उनीहरू संवेदनशील नभएको रूपमा अर्थ्याउने गरेका छन्।
कसको गुणस्तर कस्तो?
गत पुस र माघ महिनामा चार स्थानमा गरिएको उक्त प्राविधिक परीक्षणमा मोबाइलको कल कायम हुन लाग्ने समय र कलको सफलता दर कमजोर भएको देखियो।
भक्तपुरमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको गुणस्तर परीक्षण गरिएको थियो।
त्यसमा कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्यसभन्दा कम हुनुपर्नेमा नेपाल टेलिकमको १२.३९, एनसेलको ७.८८ र स्मार्ट टेलिकमको १५.६५ सेकेन्ड पाइएको छ।
कल सफलताको दर भने ९९ प्रतिशत हुनुपर्छ तर। कसैको पनि त्यति नपुगेको प्रतिवेदन बताउँछ।
कल सफलता दर
स्रोत: नेपाल दूरसञ्चार प्राधिकरण
दुई प्रतिशतभन्दा कम हुनुपर्ने कल विच्छेद हुने दर चाहिँ नेपाल टेलिकमको ४.६५, एनसेलको १.१४ र स्मार्ट टेलिकमको ५.४८ प्रतिशत देखिएको छ।
पृथ्वी राजमार्गमा नेपाल टेलिकम र एनसेलको मात्र परीक्षण गरिएको थियो।
त्यहाँ कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको १२.०३ र एनसेलको १०.५६ सेकेन्ड देखिएको छ भने कल सफलता दर नेपाल टेलिकमको ८३.४७ र एनसेलको ७४.०५ प्रतिशत छ।
कल विच्छेद दर चाहिँ नेपाल टेलिकमको ६.९३ र एनसेलको ८.२५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
पोखरामा कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ११.५७, एनसेलको ९.६१ र स्मार्ट टेलिकमको १२.९१ सेकेन्ड तथा कल सफलता दर नेपाल टेलिकमको ९८.५३, एनसेलको ९५.७१ र स्मार्टको ९२.८६ प्रतिशत रहेको देखिन्छ।
बाग्लुङमा पनि कुनै कम्पनीको सेवा मापदण्डअनुरूप रहेको देखिँदैन।
त्यहाँ कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको १२.६९, एनसेलको ११.४३ र स्मार्ट टेलिकमको १३.८४ सेकेन्ड र कल सफलता दर नेपाल टेलिकमको ९६.१५, एनसेलको ९४.३३ र स्मार्ट टेलिकमको ६५.७१ प्रतिशत रहेको छ।
कल विच्छेद हुने दर भने नेपाल टेलिकमको चार, एनसेलको दुई र स्मार्ट टेलिकमको ६.५२ प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख छ।
उक्त परीक्षणमा सहभागी अधिकारीहरूका अनुसार चलायमान सवारी साधनमा जडान गरिएको परीक्षण उपकरणद्वारा लगातार फोन कल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्यमुख्य सेवा मानकहरू सङ्कलन गरिएको थियो।
यसरी मानकहरू सङ्कलन गर्दा परीक्षण गरिएको स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरूको समानान्तर रूपमा गुणस्तर मापन गरिएको अधिकारीहरूले बताए।
यसरी गुणस्तर मापन गर्दा परीक्षण गर्ने स्थानमा उपलब्ध दोस्रो पुस्ता (टूजी), तेस्रो पुस्ता (थ्रीजी) र चौथो पुस्ता (फोरजी) मध्ये जुन नेटवर्क सबैभन्दा अनुकूल छ त्यसैमा परीक्षण गरिएको थियो।
मोबाइलबाट गरिने कलको गुणस्तर कमजोर देखिएपछि त्यसलाई सुधार गराउन पहल थालिएको अधिकारीहरूको दाबी छ।
दूरसञ्चार सेवाको नियामक निकाय प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, “प्रतिवेदन आउनेबित्तिकै हामीले सबै सेवाप्रदायकलाई पत्र पठाएर गुणस्तर सुधार गर्न भनिसकेका छौँ ।
उक्त पत्रपश्चात् पनि कम्पनीहरूले गुणस्तर सुधार गर्न पहल नगरे थप कारबाही अघि बढाइने उनले बताए।
दूरसञ्चार ऐनअनुसार गुणस्तर कमजोर बनाउने कम्पनीलाई अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ।
त्यसबाट उपभोक्तालाई क्षति पुगे क्षतिपूर्ति भराउने व्यवस्था पनि रहेको अर्यालले बताए।
तर प्राधिकरणको परीक्षण प्रतिवेदनलाई पूर्ण रूपमा मान्न नसकिने केही सेवाप्रदायकहरूको दाबी छ।
उनीहरूले सानो समूहमा गरिएको परीक्षणलाई हेरेर प्राधिकरणले प्रतिवेदन तयार पारेको आरोप लगाएका छन्।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, “कत्रो समूहमा परीक्षण गरियो भन्ने हेर्नुपर्छ। यो प्रतिवेदन सानो समूहमा गरिएको देखिएकाले यसैका आधारमा गुणस्तरलाई सामान्यीकरण गर्न मिल्दैन।”
उनले परीक्षण गरिएको स्थानबाट कहाँ रहेको मोबाइलका लागि कल गरियो भन्ने पनि हेर्नुपर्ने बताए।
तर प्राधिकरणको निर्देशनानुसार आफूहरू सुधारका लागि सधैँ तयार रहेको सेवाप्रदायकहरू बताउँछन्।
सभार: बिबिसी