कचहरी डट कम, हुम्ला ।।
महिला तथा बालबालिका कार्यालय हुम्लाले गठन गरेको करीब सात सय समुहरुले २९ लाख १९ हजार ९ सय ३३ रकम बचत गरेका छन् । यसबाट सानातिनो आर्थिक टेवा पुगेको छ ।
हुम्ला जिल्लाका २७ गाविसहरुमा गठन भएका ६ सय ८५ महिला समुहहरुले मासिक १० रुपैंयादेखि १०० रुपैंयासम्म बचत गरेर २९ लाखभन्दा धेरै रकम बचत गर्न सफलको भएको जानकारी महिला विकास अधिकारी विष्णु कुमारी आचार्यले दिनुभएको छ ।
गाउँ गाउँमा गठन भएका महिला समुहरुले बचत गरेर आफ्ना समुहका सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्ने गरेका छन् । यसबाट एकातिर साहुको चर्को ब्याजबाट मुक्त भएका छन् भने अर्कोतिर मासिक रुपमा सानो सानो रकम जम्मा गरेर पनि राम्रो बचत हुनुको साथै बचत गर्ने बानी परेको सिमकोट ६ हुम्लाका गहुँगोरा रोकायाको अनुभब रहेको छ ।
महिला तथा बालबालिका कार्यालय हुम्लाले हालसम्म जिल्लाभरी सात वटा महिला सहकारी संस्था गठन गरेको छ भने उक्त संस्थाहरुमा २५ हजारदेखि दुई लाखसम्म रकम बचत भएको छ भने विभिन्न समुहरुमा जम्मा भएको २९ लाखभन्दा धेरै रकममध्ये २१ लाख रकम विभिन्न आय आर्जनका लागि ऋण लगानी भएको छ भने ९ लाखभन्दा धेरै रकम बैकमा मौज्दात रहेको जानकारी महिला तथा बालबालिका कार्यालय हुम्ला स्रोतबाट प्राप्त भएको छ ।
गाउँ गाउँमा गठन भएका महिला समुहहरुले बचत मात्रै हैन विभिन्न प्रकारका महिला सम्बन्धी सचेतना, सीप तथा प्रविधिमुलक कामहरु, आय आर्जन, स्वास्थ्य, सरसफाइ तथा पोषण सम्बन्धी विविध प्रकारका गतिविधिहरुमा संलग्न हुने भएकोले जिल्लाको सचेतना जगाउने काममा सहयोग पुगेको छ ।