काठमाडौं,माघ २८ –
अभिनेता अक्षय कुमारको ‘कोर्टरुम ड्रामा’ चलचित्र ‘जोली एलएलबी २’ आज ९शुक्रबार० रिलिज हुँदैछ । यो चलचित्रमा अक्षय कुमार वकिल जोली मिश्राको भूमिका निर्वाह गर्दैछन् जो ‘क्रिमिनल ल’को क्षेत्रमा नाम कमाउन चाहन्छन् । हुमा कुरैशी जोलीकी श्रीमती पुष्पा पाण्डेको भूमिका निर्वाह गर्दैछिन् । अनु कपुर एक भ्रष्ट र पावरफुल भूमिकामा देखिँदैछन् ।
चलचित्रमा अनु कपुर र अक्षय कुमारको ‘अनस्क्रिन’ टक्कर देख्न सकिनेछ । सुभाष कपुरको निर्देशनमा बनेको यो चलचित्रलाई ‘बम्बे हाइकोर्ट’को ‘अब्जेक्सन’पछि चार ‘सिन’ निकालेर रिलिज गरिएको छ । यद्यपि जुन ‘सिन’ काटिएको थियो, उक्त ‘सिन’लाई ‘सेन्सर बोर्ड’ले भने पास गरेको थियो ।
चलचित्रको अधिकांश ‘सुटिङ’ लखनउमा भएको छ । त्यसैले चलचित्रको अन्तिम ‘प्रमोशनल इभेन्ट’ बुधबार लखनउमा आयोजना गरिएको थियो । बुधबार अक्षयले आफ्ना साथीहरूका लागि चलचित्रको ‘स्पेशल स्क्रिनिङ’ राखेका थिए ।
‘जोली एलएलबी २’ सन् २०१३ मा आएको अरशद वारसीको चलचित्र ‘जोली एलएलबी’ को सिक्वेल हो । यो चलचित्र दर्शकले अत्यन्तै मनपराएका थिए । यो चलचित्रमा सौरभ शुक्ला पछिल्लो चलचित्रको आफ्नो भूमिका न्यायधीश सुरेन्द्रलाल त्रिपाठीको भूमिकामा पुनः देखिनेछन् । अक्षय कुमारले जोलीको चरित्रलाई चर्चित बनाउने श्रेय अरशद वारसीलाई दिएका छन् । उनले भने, “म अरशदप्रति आभारी छु, उनले मलाई यस प्रकारको चलचित्रमा काम गर्ने बाटो देखाए । उनैको कारण यो चलचित्र गर्नु मेरो लागि सहज भयो । उनले यो चलचित्रलाई निकै ठूलो बनाए । म आशा गर्छु ‘जोलीएलएलबी २’ पनि दर्शकलाई उत्तिकै मन पर्ने छ ।”