दुष्यन्त चौधरी,
बारा, माघ २६–
साविक बिजेता प्राईम पोलिक्लिनि बिजय युथ क्लबलाई पराजित गर्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा आज भएको पहिलो सेमिफाईनलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटा उपाधि नजिक पुगेको हो । खेलको सुरुवातमै बिजय युथले लिएको अग्रता उल्टाउदै संकटा जित हात पारेको हो । खेलको सुरु भएको ४५ सेकेण्डमै बिजय युथले बिमल राना मगरको गोल मार्फत खेलमा अग्रता लिएको थियो । तर बिजय युथले अग्रतालाई कायम गर्न सकेन् । संकटाका रक्षापंक्ती सम्हालिन नपाउदै सुनिल बलको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरेका हुन् ।
संकटाको जितमा अनिल गुरुङ र बिश्व अधिकारीले एक/एक गोल गरे । खेलमा अग्रता लिएपछि सुरुवातमा दवाव झेलेको संकटाले २७ औं मिनेटमा बराबरी गोल फर्कायो । डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै संकटाका लागि अनिल गुरुङले गोल गरे ।
एपिएफलाई पन्छाएको संकटा र सरस्वतीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको बिजय युथ बिचको सेमिफाईनल भिडन्त निकै रोमाञ्चक रहयो । खेलको ८९औं मिनेटमा संकटाका लागि बिश्व अधिकारीले गोल गरेका थिए । बिश्वले प्रहार गरेको कर्नर बलले सिधै जाली चुम्न पुगेको थियो ।
बिजय युथका प्रशिक्षक सुविन घिमिरले राम्रो राम्रो अवसर चुकाउन पुग्दा टिमले पराजय भोगेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले गोल खाएर केही दवाव झेल्न पुगेपनि अन्तिम समयसम्म सम्हालिएर खेल्दा जित हात पारेको बताए ।
खेलको म्यान अफ दि म्याच संकटाका बिश्व अधिकारी घोषित भए । प्रतियोगिता अन्तर्गत अन्तिम सेमीफाईनलमा भोली त्रिभूवन आर्मी क्लब र हिमालयन शेर्पाबीच हुनेछ ।
बिकेश कुथु खतरामुक्त
वीरगन्ज युनाईटे क्लबबिचबिरुद्धको खेलमा चोट लागेर घाईते भएका त्रिभूवन आर्मी क्लबका गोलरक्षक बिकेश कुथु खतरामुक्त रहेका छन् ।
बल नियन्त्रण गर्ने क्रममा जितेन्द्र कार्कीसंग ठोक्किदा कुथुको टाउकोमा चोट लागेको थियो । कुथुको टाउको पाच वटा टाका लगाइएपनि अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् ।
कुथुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । कुथुले प्रतियोगिताको अन्य खेल नखेल्ने भएका छन् । यसैगरी खेलाडीको जीवनबिमा गरेको एनबि इन्सुरेन्सले कुथुको उपचारमा लाग्ने खर्च ब्यहोर्ने भएको छ । क्लबले ईन्सुरेन्स कम्पनीसंग सहकार्य गरी यस वर्ष ६३ जना खेलाडीको जीवन बिमा गरेको थियो ।