Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मुग्लिन–नारायणगढ सडक जामले सौराहाका बुकिङ होटल धमाधम रद्द – Gaule Khabar

मुग्लिन–नारायणगढ सडक जामले सौराहाका बुकिङ होटल धमाधम रद्द

मुग्लिन–नारायणगढ सडक जामले सौराहाका बुकिङ होटल धमाधम रद्द

वसन्त ढुंगाना,
चितवन, माघ २१–

माघ ४ गते काठमाडौँको लुम्बिनी एकेडेमीको भ्रमण टोली सौराहा घुम्न आउँदै थियो । ३५ जनाको भ्रमण टोलीलाई स्वागत गर्नको लागि सारौहाको साथी होटलले खाना समेत बनाएर बसेको थियो । दिनभर मुग्लिङ नारायणगढको जाममा परेपछि उक्त टोली सौहारा नआई लुम्बिनीतर्फ हानियो ।
‘हामीले उनीहरुलाई खाना बनाएर राखेका थियौँ’ साथी होटलका सञ्चालक सुभासचन्द्र गौतमले भने, ‘नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण एकेडेमीको भ्रमण टोली सौराहा नआई लुम्बिनीतर्फ गयो ।’ उनीहरुलाई भनेर बनाएको खाना समेत खेर गएको उनले बताए ।
‘हामीले उनीहरुलाई पैसा तिर्नुस् भन्न सकेनौँ । बाटोका कारण आउन नसक्नु भएको हो । उहाँहरुले पटकपटक सम्पर्क गरिरहनु भएको थियो, जाममा छौँ आउन सकेनौँ भनेर’ उनले भने, ‘हामीले उहाँहरुलाई खानाको पैसा माग्ने कुरै भएन । उहाँहरु सधै हामीकहाँ आइरहनु हुन्थ्यो ।’
भ्रमण टोलीले आफ्नो समय तालिका बनाएर आएका हुन्छन् । नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण सौराहा आउने पर्यटकले यसरी नै बुकिङ रद्द गर्न लागेका छन् ।
‘सौराहा घुम्ने समय नारायणगढ–मुग्लिन सडकखण्डको जाममा खेर जान्छ । अनि मानिसहरु अन्यन्त्र नै घुम्न जान्छन्’ सौराहाका होटल व्यवसायी नवीन नेपालले भने, ‘विदेशी पर्यटकहरुले समय बचाउन नसक्दा बुकिङ पनि रद्द हुने गरेको छ ।’
भूकम्प र नाकाबन्दीले प्रभावित सौराहाको पर्यटन व्यवसाय नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण थप प्रभावित भएको छ । नेपाल भित्रिएका पर्यटक नारायणगढ–मुग्लिन सडकखण्डको अवरोधका कारण चितवन आउन कठिनाई हुने गरेको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
‘सडकखण्ड बिस्तार हुनु आफैमा राम्रो कुरा हो । यो सडक निर्माण गर्ने बिहान साढे १० देखि दिउँसो तीन बजेसम्मको बन्दका कारण समस्यामा परेको छ’ घिमिरेले भने, ‘यसले गर्दा पर्यटकलाई चितवन आउने कि नआउने भन्ने अन्योल परेको छ ।’
पर्यटकलाई घुम्ने क्रममा अति सहज हुनुपर्दछ । चितवन आउन असहज भएपछि यहाँ आउने पर्यटकहरु अहिले बन्दीपुर, गोरखा, पोखरा, कुश्मा, बाग्लुङसम्म पुग्ने गरेको घिमिरेले बताए । ‘यहाँ आउने ५० प्रतिशत पर्यटक पोखरा गएका छन् । अहिले अधिकांशलाई सडकखण्ड बिस्तारको काम भइरहेकोे थाहा छ । त्यसले गर्दा अहिले सौराहा पर्यटकको रोजाईमा परेको छैन’ उनले भने, ‘जामका कारण कति पर्यटकको घुम्ने समय नै हुँदैन ।’
काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्य चितवन हो । चितवन र आसपासका क्षेत्रमा पर्यटकलाई लक्षित गरी एक सय ५० वटा होटल निर्माण भएका छन् । हात्ती, डुङ्गा, जीप र पर्यटक बसमा ठूलो लगानी गरिएको छ । होटलमा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ । आधाभन्दा बढीले बैंकबाट ऋण झिकेको घिमिरेले जानकारी दिए । सडकका कारण अधिकांश गोष्ठी, सभा, सम्मेलनको बुकिङ रद्द हुनुका साथै यहाँ आउने पर्यटक पोखरातर्फ लागेको उनले बताए ।
पुस र माघ महिना भनेको पर्यटनको सिजन हो । चितवन निकुञ्जका अनुसार चालु आर्थिक वर्षमा ६० हजार पर्यटक निकुञ्ज घुम्न आएका छन् । २०७१ सालको पुससम्म छ महिनाको अवधिमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या एक लाख सात हजार नौ सय थियो । गत आर्थिक वर्ष एक लाख रहेको थियो ।
‘पर्यटक मुग्लिन आएर चार घण्टा कुर्नुपर्ने अवस्था छ । यो समयसम्म त पोखरा पुगेर एउटा क्षेत्र अवलोकन गरिसकेका हुन्छन्’ घिमिरेले भने, ‘यस बारेमा हामीले प्रमुख जिल्ला अधिकारीलाई पनि जानाकारी गराएका छौँ ।’ उनले सडक निमार्णको काम जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने बताए ।
पुसको सात गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म यातायात अवरुद्ध गरेर नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम भइरहेको छ । अहिलेसम्म ३६ प्रतिशतमात्र काम भएको नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इञ्जीनीयर शिव खनालले जानकारी दिए । आयोजनाले अगामी भदौ महिनासम्म काम सम्पन्न गरिसक्नु पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका