अछाम, माघ १९-
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले सबै नेपालीको एकतामा मात्रै देश अगाडी बढ्न सक्ने बताउनुभएको छ ।
नेकपा एमाले अछाम क्षेत्रनम्वर २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले सबै नेपालीको एकता, आपसी सदभाव र हितको लागि नै देशमा संघीयता ल्याइएको उल्लेख गर्नुभयो । नेपाली जनताले ७० वर्ष लगाएर देशलाई यो अवस्थामा पुर्यायको भन्दै नेता रावलले सबैले, शिक्षा स्वास्थ्य र ईज्जत प्रतिष्ठालाई अगाडी बढाउन पाउनुपर्ने उल्लेख गर्नुभयो ।
जनताले आफनो अधिकारलाई राम्ररी उपयोग गर्न पाउन भनेर नै देशमा संघियता ल्याईएको भन्दै नेता रावलले केही दलले तराई पहाड मिल्नै नहुने कुरा गरेर आतंक मच्चाइरहेको आरोप लगाउनुभयो । २ नम्बर प्रदेशमा चुनाव हारेकाहरु ५ नम्बर प्रदेशमा आएर जनता भड्काइरहेको उहाँको भनाई थियो ।
संविधानको कुन धारा, कुन ब्यवस्थाले कुन जनता र कुन समुदायलाई असर गर्यो काँग्रेस माओवादीले भन्न सक्नुपर्यो भन्दै रावलले प्रश्न समेत गर्नुभयो ।
सरकारले संविधान संशोधनका नाममा बेमौसमको झ्याली पिटिरहेको बताँउदै सच्चा देशभक्तहरुले संविधान संशोधन गर्नुपर्छ भनेर नभनेको उल्लेख गर्नुभयो । नेपालमा महिलाहरु पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश भएको स्मरण गर्दै नेता रावलले यस्तो ब्यवस्था संसारको कुनैपनि देशमा नभएको बताउनुभयो ।
नेपालको संविधान कांग्रेस एमाले र माओवादी मिलेरै ल्याएको र यसको कार्यान्वयन पनि सबै मिलेरै गर्नुपर्नेमा नेता रावलले जोड दिनुभयो ।