दिपेन्द्र अधिकारी,
चितवन,माघ १८-
‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ ।’ यो भनाइ पछिल्लो समय झनै सार्थक बन्दै गइरहेको छ । तीव्र गतीमा गाडी चलाउँदा छिनभरमै मृत्युको मुखमा पुग्ने खतरा हुन्छ । त्यसैले तीव्र गतीमा यात्रा गर्दा हुने जीवन क्षतिबारे जानकारी गराउन चितवनमा ट्राफिक प्रहरीले नयाँ अभियान थालेको छ ।
जिल्लामा दैनिकजसो हुने दुर्घटनाको मुख्य कारण गाडी चालक रहने अध्ययनले देखाएपछि ट्राफिक प्रहरीले चालक लक्षित गरी नयाँ अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले दैनिकजसो जिल्लाका विभिन्न क्षेत्रमा चालकलाई प्रत्यक्ष शिक्षा पुग्ने गरी ‘चालकसँग एक मिनेट’ अभियान सञ्चालन भइरहेको छ । एकै छिनको हतार र एउटै व्यक्तिको लापरवाहीले ठूलो धनजनको क्षति हुने बारे गाडी चालकलाई जानकारी दिन थालिएको हो ।
‘कुल दुर्घटनाको ७० प्रतिशत जति चालकको चरम लापरवाही नै कारणका रुपमा देखिएपछि उनीहरुलाई नै लक्षित गरी अभियान थालेका हौं,’ प्रनि पन्तले भने । गाडी रोकेर चालकसँग एक मिनेटको मात्र समय लिई सुरक्षित यात्रा, ट्राफिक चिन्हको जानकारी, सडकको अवस्था, जीवनको मह¤वलगायत विषयमा जानकारी दिने गरिएको उनले बताए । ट्राफिक ज्ञानका लागि विद्यालय, क्याम्पस, समूह, टोलमा गई सचेतनामूलक कार्यक्रम आयोजना गरी जानकारी दिने गरिएको प्रनि पन्तले बताए ।
ट्राफिक प्रहरी नायव निरीक्षक कृष्णबहादुर ठकुरीले बढ्दो गाडी दुर्घटना कम गर्न चेतनाका कार्यक्रमसँगै अन्य काम पनि भइरहेको बताए । पछिल्लो समय अत्यधिक गाडी दुर्घटना हुने नारायणगढ–मुग्लिन सडक खण्डका ३८ वटा उच्च जोखिमयुक्त ठाउँमा पर्खाल लगाउने, जानकारी बोर्ड राख्ने, ट्राफिक चिन्ह राख्ने, बार हाल्ने काम भएको प्रनानि ठकुरीले बताए । साथै उनले रातको समयमा हुन सक्ने दुर्घटना नियन्त्रणका लागि रिफ्लेक्टर (टल्कने वस्तु) गाडीमा टाँस्ने काम भइरहेको जानकारी दिए । ट्राफिक प्रहरीले दैनिक कार्यालयमै सवारी नियम उलंघन गरी कारबाही गरिएकाहरुलाई पनि ट्राफिक शिक्षा दिँदै आएको छ ।