काठमाडौं माघ, १५ –
आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ ।
मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यता राखिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ ।
सोनाम ल्होछारका अवसरमा तामाङ समुदायले काठमाडौंको टुडिखेलमा वर्सेनिझैं यस वर्ष पनि विभिन्न गर्दैछन् । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गर्ने गरिन्छ ।
नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आˆना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना
सोनाम ल्होछारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।