राजु चौधरी,
चितवन, माघ १४–
महानगरपालिका बन्ने अन्तिम चरणमा रहेको भरतपुरको व्यवस्त बजार हो नारायणगढ । चितवनमा पछिल्लो समय जनसंख्या वृद्धि हुँदै गएपछि नारायणगढमा सर्वसाधरणको चाप बढ्ने गरेको छ । जसका कारण पैदल हिड्नेहरुलाई बाटो काट्नै मुस्किल हुन्छ । नारायणगढका लायन्सचोक, शहिद चोक, पुल्चोक र वीरेन्द्र बहुमुखी क्याम्पस चोक बाटो काट्न निकै कठिन हुने क्षेत्र हो । बजारमा दिनप्रतिदिन चाप बढ्दै गएपछि सहज यात्राको लागि आकाशे पुल र ट्राफिक लाईटको आवश्यकता खड्किएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै सरोकारवाला निकायबीच बुधबार भरतुरमा बैठक समेत बस्यो । जहाँ आकाशे पुल र ट्राफिक लाईटको आवश्यकता जोडदार रुपमा उठाईयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त नारायणी अनलाईनसंग भने–“बजारलाई व्यवस्थित बनाउन सबै एकजुट भएका छौं, आकाशे पुल र ट्राफिक लाईटमा सबैको जोड रह्यो ।” ट्राफिक प्रमुख पन्तले नारायणगढमा तत्कालै पार्किङको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
बजारलाई व्यवस्थित बनाउन ट्राफिक प्रमुख पन्तको संयोकत्वमा एक कार्यदल समेत गठन गरिएको छ । जसमा सडक कार्यलय, भरतपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, नारायणगढ क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिहरु रहेका छन् । कार्यदलले नारायणगढ र भरतपुर क्षेत्रमा तत्काल देखिएका समस्याहरुको पहिचान गर्नेछ । तत्पश्चात पुनः सरोकारवाला निकायबीच बैठकबसी समस्या समाधान तर्फ अघि बढ्ने ट्राफिक प्रमुख पन्तले बताए ।
ट्राफिक प्रमुख पन्त आएपछि सबैभन्दा बढि भिडभाड हुने सरकारी कार्यालय मालपोतमा ट्राफिक व्यवस्थापनका लागि व्यवस्थित पार्किङ स्थान निर्माण भएको छ । जहाँ कार्यलय समयमा एक जना अनिवार्य ट्राफिक प्रहरी बस्छन् । ट्राफिक प्रमुख भेटवालले चितवन महोत्सवमा जनचेतना मुलक ट्राफिक नियमको बारेमा जानकारी दिन पर्चा पम्पप्लेट बाड्नुको साथै दुर्घटनालाई झल्को दिनेगरि डेमो गरिएको थियो ।
चितवनलाई व्यवस्थित बनाउँन यस्तो थियो भेटवालको कदम
चितवनको मूख्य बजार नारायणगढ एक समय निकै अव्यवस्थित थियो । ठूला तथा साना सवारीको त परे जाओस् पैदल हिड्न समेत कठिन हुन्थ्यो । जव जिल्लाको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी निरीक्षक राजन भेटवाल आए तब नारायणगढमा विस्तारै परिवर्तनको आभाष हुन थाल्यो ।
करिव १४ महिना अघि चितवन आएका भेटवालले आफूले गरेको प्रयासबाट वाहावाही पाए । उनले यसअवधिमा ट्राफिक व्यवस्थामा धेरै सुधार गरे । बजार क्षेत्रमा देखिएका मुख्य समस्या ट्राफिक व्यवस्थापनमा धेरैसम्म सुधारका कामहरु भए । ट्राफिक प्रमुख भेटवालले नारायणगढमा बजार व्यवस्थापनदेखि लिएर मिलनरोड, संगमरोड, न्यूरोड, मालपोत चोक, अस्पताल रोड भरतपुर अस्पताल अगाडिको सडक, स्याउली बजारलगायत क्षेत्रमा सहज पार्किङको व्यवस्थापन मिलाए । उनले भने–“चितवन आउँदा फराकिलो बाटो देखेरै दंग परे, तर निकै अव्यवस्थित थियो, म चितवन छोड्दै जाँदा धेरै सुधारका प्रयास गरेको छु । यो चितवनबासीले नै देखेका छन् ।”
यस्तै तत्कालिन ट्राफिक प्रमुख भेटवालले सडक तथा फुटपाथ अतिक्रमण हटाउनमा समेत महत्वपूर्ण कार्य गरे । पैदल हिड्ने बाटोमा समेत बजार लगाएर व्यवसायीहरुलाई कारवाही गर्ने समेत उनैको कार्यकालमा भयो । जसअन्तरगत भरतपुरको चौविसकोठीमा लामोसमदेखि सडक अतिक्रमणगरि बस्दै आएका ४० वटा फलफुल तथा कपडा पसल ट्राफिक प्रमुख भेटवालले हटाउन सफल भए । यस्तै भरतपुर अस्पताल अगाडिको फुटपाथ, पुलचोक–लायन्सचोक क्षेत्र, शहिदचोक–बेलचोक सडक खण्ड, मिलनरोडलगायतका स्थानमा सडकमा व्यापार व्यवसाय गर्नेलाई हटाउँदै सडकलाई फराकिलो र सुरक्षित बनाउने काम ट्राफिक प्रमुख भेटवालले गरे ।
तत्कालिन ट्राफिक प्रहरी निरीक्षक भेटवालले बजार व्यवस्थापन मात्रै गरेनन् आफ्नो कर्तव्यलाई नभुलिकन ट्राफिक सुरक्षाका विभिन्न कार्यक्रमहरु ल्याए । यीनै ट्राफिक प्रमुख हुन् जसले सानो खालका असुरक्षित हेल्मेट प्रयोगमा रोक लगाई सुरक्षित फुल हेल्मेट प्रयोग गर्न लगाए । अहिले हरेक मोटरसाईकल चालकको टाउँमा फुल हेल्मेट देख्न सकिन्छ । यस कार्यलाई अगाडि बढाउँदा ट्राफिक प्रहरीले एक हजार दुई सय ६५ थान असुरक्षित हेल्मेट नियन्त्रणमा लिएको थियो ।