काठमाडौं, माघ ९–
पछिल्लो पटक भारतको पटनास्थित गान्धी मैदानमा पुस १९ गते भारतीय अधिकारी, मधेसी मोर्चा, सीके राउत र तराईका सशस्त्र समुहका प्रतिनिधिको भेलाका थप योजनाहरु चुहिएका छन् । नेपालबाट तराई अलग्याउन अहिलेको सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि समेत अनुकुल रहेको उनीहरुको निश्कर्ष रहेको छ ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई अभियानको अभिन्न अंगकै रुपमा रहेको भेलाको निश्कर्ष छ । उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार भेलाले नेपालको राजनीतिमा बलियो पकड रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मधेस विरोधी शक्तिको रुपमा जति सक्यो धेरै प्रचार गर्नु पर्ने र त्यसका लागि कांग्रेस र माओवादीका पहाडे मुलका नेता र नयाँ शक्तिका अध्यक्ष भट्टराईले ठूलो भूमिका खेल्न सक्ने निश्कर्ष निकालेको थियो । संविधान संशोधन गर्ने भारत र मधेसी मोर्चाको एजेण्डाको विरोध गर्नेलाई मधेसी जनताको विरोधीका रुपमा प्रचार गर्ने उनीहरुको रणनीति छ ।
भारतीय राजदूत रन्जित रे सहित केभी राजन, देवेन्द्र यादव र रघुवंशप्रसाद सिंहसमेत सहभागि उक्त बैठकमा नेपालबाट गएका मधेसी मोर्चाका दोस्रो तहका १९ नेता उपस्थित थिए । र, त्यहाँ सिके राउत पनि सहभागी थिए । तरराई अलग गराउने रणनैतिक योजनासाथ भएको उक्त बैठक सम्बन्धी विषय संसदमा समेत प्रस्तुत भएको छ भने प्रमुख ५ दलका शीर्ष नेताहरुको राष्ट्रपति भवनमा भएको बैठकमा समेत यस विषयमा प्रश्न उठिसकेको छ ।
संविधान संशोधनका लागि संसदको गणित नपुग्ने अवस्थामा तराईमा सीके राउतको गतिविधि बढाउने र सँगसँगै बिहारमा तालिम दिएर राखिएका सशस्त्र समुहले ब्याकअपका रुपमा काम गर्ने भेलाले समझदारी गरेको थियो । १९ पुसमा भएको पटना भेलाले अहिले सीके राउतलाई मैदानमा उतार्ने र राउत उदाउँदै गरेको देखाएर ‘मध्यमार्गी’ मधेसी मोर्चाका माग पूरा गर्न भन्दै संविधान संशोधनमा दवाव दिने निश्कर्ष निकालेको छ । पटना भेलाकै निर्णय अनुरुप मधेसी मोर्चाले गत बुधवार लाहनमा आयोजना गरेको सभामा एक हप्ताअघि राउतलाई सम्बोधन गर्न लगाइएको खुलेको छ ।
मधेसका २५ वटा सशस्त्र समुहको प्रतिनिधित्व रहेको सो बैठकमा ती समुहहरुरुले पाएको सैन्य तालिमका विषयमा पनि कुरा भएको थियो । ‘रअ’को मिसन अन्तर्गत नेपालको तराईका पृथकतावादीहरुलाई भारतीय नौसेनाका अधिकारी कुलभुषण यादवले तालिम दिएका थिए । कुलभुषण पाकिस्तानमा पक्राउ परेपछि अहिले तराई पृथकतावादीको मोर्चा अर्कैले सम्हालेको छ । अहिले गोइत र ज्वाला समुहलाई ब्याकअप फोर्सका रुपमा बिहारमा तालिम दिईराखिएको छ । पाकिस्तानमा पक्राउ परेका यादवले नेपालका पृथकतावादीलाई तालिम दिएको स्वीकारर गरेका छन् ।
बैठकले डेढ महिना भित्र तराईका २० जिल्लामा पर्याप्त मात्रामा हतियार भण्डारण गर्ने र भारत र नेपालका ५०० हतियारधारीका लागि भारतमै तालिम चलाउने पनि निर्णय गरेको थियो । सो छलफलले तराईका एक हजार स्थानमा भारतको झण्डा गाढ्ने र भारतीय सेनालाई सिभिल ड्रेसमा खडा गरी स्वतन्त्र मधेसको पक्षमा ठूलो संख्याको प्रदर्शन गर्ने तयारी गरेको थियो ।
तराईलाई नेपालबाट अलग गर्न अहिलेको सत्ता गठबन्धन सबैभन्दा अनुकुल हुन सक्ने उनीहरुको निश्कर्ष थियो । उनीहरुको निश्कर्ष अनुरुप नै शीर्ष नेताको बैठकमा यस्तो सूचना पाएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सुरक्षा संयन्त्रलाई सक्रिय र सतर्क बनाउनु पर्नेमा सूचना सम्बन्धी जानकारी भारतीय राजदूत रन्जित रेलाई सेयर गरेका छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षा सम्बन्धी प्रश्नमा आफ्नो सुरक्षा निकायसँग गम्भीर रुपमा छलफल गर्नु पर्ने काम छोडेर पटना भेलामा सहभागि भएका मधेसी मोर्चाका नेता र भारतीय राजदूतसँग छलफल गर्न पुगे । भेलामा सहभागि भएकाहरुलाई हवाला दिंदै उल्टै प्रधानमन्त्री दाहालले त्यस्तो भेला नभएको आफू निकट मिडिया मार्फत बाहिर ल्याए ।
राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न गराउने पक्षलाई नै उल्टै पोल लगाए प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई एमाले उपाध्यक्ष भीम रावलमाथि जाइलाग्न लगाए । बिहीवार संसदमा विशेष समय लिएर बोल्दै एमाले उपाध्यक्ष रावलले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषयमा आफूले पाएको सूचना सेयर गर्दा प्रधानमन्त्रीले उल्टै त्यसलाई दुरुपयोग गरेको वताएका थिए ।
भेलाले तराईका सशस्त्र समुहलाई भने ‘ब्याकफोर्स’का रुपमा उपयोग गर्ने निश्कर्ष निकालेको थाहा पाएपछि नेपाली प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधान सेनापतिहरुसँग यस विषयमा छलफल गरिसकेका छन् ।
चत्रपथवाट साभार