काठमाडौं, माघ ८–
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले भने,‘सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयक फिर्ता लिने हो वा पेण्डिङ्मा राख्ने हो, त्यो सरकारको कुरा हो, तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ, र संविधान कार्यान्वयनमा जुट्नुपर्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए। उनले भने,‘म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ, राष्ट्रिय सहमति भयो भनेमात्रै उत्तम हुन्छ, नत्र यसले देशलाई फाईदा गर्दैन्।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरि आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको जिकिर दोहोर्याउँदै भने,‘अब संशोधनको कुरामा नअल्झिकन चुनावमा जानु नै उत्तम हुन्छ, जेठभित्रै स्थानीय तहको निर्वाचन गरेर जानुपर्छ, अब मधेशी मोर्चालेपनि सरकारले संशोधन गर्ने कोशिस गर्यो, तर संभव भएन भन्ने कुरा मनन गरेर आफ्ना एजेण्डासहित चुनावमा जानुपर्छ।’
उनले संशोधन विद्येयक फेल भएपछि निन्याउरो मुख लगाएर जानुभन्दा आफ्नो एजेण्डासहित चुनावमा जाँदा नै उत्तम हुने तर्क गरे। नेता रायमाझीले चुनावको वातावरण बनाउनुपर्ने र निर्वाचनसम्बन्धी विधेयकहरु तिव्र गतिमा पारित गर्दै अघि बढ्नुपर्ने छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्। उनले भने,‘यो सानो तिनो माछाको काम नै होईन, तस्करीमा स्वयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाठ यो काम हुनै सक्दैन्।’
नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माँग गरे। उनले भने,‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन्।’
उनले संविधान संशोधन विद्येयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे। उनले भने,‘स्वतन्त्र सांसदहरुसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन संभव छैन्।’ यद्धपी उनले कमल थापा नेतृत्वको राप्रपाभित्रपनि राष्ट्र र राष्ट्रियताको पक्षमा ठूलो विवाद रहेको रहेको समेत स्पष्ट पारे।
उनले संविधान संशोधन विद्येयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर गरे। उनले अघि थपे,‘अब जसरीपनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन, सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन।’ उनले वर्तमान सरकारले नै संशोधन प्रस्ताव पारित हुने संभावना नभएको स्विकार गरिरसकेको समेत आरोप लगाए।
उनले भने,‘उहाँहरुले संशोधन प्रस्ताव टेबुल गर्यौं, हाम्रो जीत भो भन्दैहुनुहुन्छ, प्रधानमन्त्री प्रचण्डजीको अन्र्तआत्मापनि यो कुरा महशुस भएको छ, अब सोचमा परिवर्तन गर्नुपर्छ।’ उनले अहिले चुनावको विकल्प नरहेको भन्दै दल चुनावको लागि केन्द्रित हुनुपर्नेमा जोड दिए। नेता महासेठले एमाले पार्टीको लोकप्रियता देखेर काँग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भैरहेको समेत अरोप लगाए।
उनले अघि भने,‘एक्ला एक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरुलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको ईशारामा एमाले भर्सेस काँग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भैरहेको छ।’
उनले अहिलेको सरकार एमालेको जनतामा लोकप्रियता देखेर स्थानीय चुनाव नगरीकन एकैचोटि संसदको चुनाव गर्ने खेलमा लागेको समेत आरोप लगाए।
त्यस्तै अहिलेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अबको १० वर्षभित्र एमालेमुक्त नेपाल बनाउने भनेर भाषणा ठोकेको आरोप लगाउँदै भने,‘गृहमन्त्री नेपालको गृहमन्त्री हुनुहुन्छ कि नेपालको लागि बाहिरको राजदुत हुनुहुन्छ?’ निधिले एमालेमुक्त नेपाल बनाउँछु भनेर सपना देखिरहेको समेत उनले टिप्पणी गरे।
महासेठले अघि थपे,‘भारत त एमालेमुक्त छैन, अनि नेपाल कसरी एमालेमुक्त हुन्छ? भारतको प्रत्येक राज्यमा एमालेको जनवर्गीय संगठन छ।’’
चुनाव चुनाव भन्ने अनि तपाईको पार्टी सहमतिमा आउन चाही किन नचाहेको नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘संविधान संशोधन विद्येयकमा पनि हामीले सहयोग गर्न खोजेकै हौं, संशोधन प्रस्तावमा उल्लेख भएका सिमांकन र भाषाको प्रस्ताव फिर्ता लिनुपर्छ भनेका थियौं, तर लिनुभएको छैन, हामीले त सहयोग गर्न खोजकै हौ नि।’
उनले सर्वोच्च अदालतको आदेशविरुद्ध संशोधन विद्येयक संसदमा टेबुल गराउने दुस्साहस यो सरकारले गरेको समेत आरोप लगाए। उनले भने,‘अहिलेको संशोधन विद्येयकले कसैको पनि समस्याको समाधान गर्न सक्दैन, स्वयम मधेशी मोर्चाका साथीहरुले यसको विरोध गरिसक्नुभएको छ, अहिले ५ नम्बर प्रदेश छुट्याउनेगरि आएको प्रस्ताव त्यो जनता लड्याउनको लागि मात्रै हो, यसले निकास दिँदैन्।’
नेपाली काँग्रेसका नेता तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले हचुवाको भरमा चुनावको मिति घोषणा नगर्ने स्पष्ट पारेका छन्।
मन्त्री खड्काले भने,‘सबै दलहरुलाई एक ठाउँमा ल्याएर सहमतिमै चुनावको मिति घोषणा गर्ने तयारीमा सरकारमा रहेको छ, सहमति विना कुनै चुनाव हुन्न भन्ने हामीलाई विश्वास छ।’ उनले दलहरुवीच सहमति भए बाँकी रहेको समयमा सबै तहको निर्वाचन गर्न सम्भव रहेको जिकिर गरे।
उनले अघि भने,‘संशोधन प्रस्तावमाथि छलफल गरौं, त्यसपछि चाँडै निर्वाचन गर्न सरकार आँतुर छ।’ मन्त्री खड्काले सहमतिविना गरिने निर्वाचन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेजस्तै हुने समेत टिप्पणी गरे।
फरक प्रसँगमा उनले मेलम्ची खानेपानी आयोजनाको अधिकांश काम सम्पन्न भैसकेको जनाउँदै आगामी असोजभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरे। उनले अबको ५ वर्षभित्रमा एक घर एक धारा व्यवस्था गर्नेगरि अहिलेदेखि नै काम भैरहेको समेत जानकारी दिए।