चितवन, पुस २९–
पेट्रोल अभावको हल्ला चलेपछि चितवनमा पेट्रोल पम्पहरुमा सवारी साधनहरुको लाईन लागेको छ । आज विहानैदेखी जिल्लाका विभिन्न पेट्रोल पम्पहरुमा पेट्रोल हाल्न मोटरसाईकल र कारहरुको लाईन लागेको छ । नाकाबन्दीको बेला पेट्रोल हाल्न लागेको लाईनको झल्को दिनेगरि चितवनका पेट्रोल पम्पहरुमा लाम लागेको छ ।
नारायणगढको शुभ पेट्रोल्याण्डलगायतका पेट्रोल पम्पमहरुमा मोटरसाईकलको लाईन लागेको छ । सो पेट्रोल पम्पमका संचालका सवल पियाले नाकाबन्दीको जस्तो पेट्रोल अभाव नभएपनि पेट्रोल ढुवानीमा समस्या आएपछि केही मात्रामा कमी आएको जानकारी दिनुभयो ।
यता पेट्रोलियम डिलर्स एशोसियन चितवनका अध्यक्ष काशीराज पाठकले आज बेलुकाबाट नै चितवनमा पेट्रोल तथा डिजेलको सहज विक्री वितरण हुने जानकारी दिनुभएको छ । नारायणी अनलाईनसंग कुरागर्दै अध्यक्ष पाठकले आजबाट पेट्रोलियम पदार्थको ढुवानी हुनेपछि जिल्लामा अभाव सिर्जना नहुने जानकारी दिनुभयो । “पेट्रोलियम ढुवानी नियमावलीको तेल ढुवानीकर्ता (ट्रान्सपोर्टरहरु)ले बिरोध गरेका हुन्, जसका कारण दुई दिनसम्म ढुवानी नहुँदा अभाव देखिएको हो, आजैबाट हट्छ ”– अध्यक्ष पाठकले भन्नुभयो ।
नियमावलीको विरोधस्वरुप ढुवानीकर्ताहरुले दुईदिनदेखि अवरोध गरेका थिए । नेपाल आयल निगमले प्रत्येक ढुवानीकर्ताहरुसंग कम्तीमा पाँच वटा ट्याङकर राख्नुपर्ने प्रावधान ल्याएपछि उनीहरुले बिरोध गरेका थिए ।
ढुवानी गर्न ढुवानीकर्ताहरु सहमत भएपछि आज साँझबाटै चितवनमा पेट्रोलियम पदार्थ भित्रिने भएको छ । चितवनमा दैनिक ४५ हजार लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजेल खपत हुने गरेको छ ।