Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटन योजना बनाउनका लागि अध्ययन, सौराहामा चिनियाँ धेरै, अमलटारीमा अमेरिकी – Gaule Khabar

पर्यटन योजना बनाउनका लागि अध्ययन, सौराहामा चिनियाँ धेरै, अमलटारीमा अमेरिकी

पर्यटन योजना बनाउनका लागि अध्ययन, सौराहामा चिनियाँ धेरै, अमलटारीमा अमेरिकी

चितवन,पुस ११-

चितवन राष्ट्रिय निकुञ्ज देशको मुख्य पर्यटकीय गन्तव्य हो । काठमाडौं र पोखरापछि धेरै पर्यटक घुम्न आउने ठाउँ सौराहा चितवनको मुख्य पर्यटकीय क्षेत्र हो । अमलटारी भर्खर उदाउँदै गरेको चितवन निकुञ्जअन्तर्गतकै अर्को पर्यटकीय क्षेत्र हो । पर्यटन सम्बन्धी अध्ययनमा संलग्नहरुले सौराहामा चिनिया र अमलटारीमा अमेरिकन पर्यटकहरु धेरै आउने पत्ता लगाएका छन् ।

मध्यवर्ती क्षेत्रमा पर्यटन योजना बनाउनका लागि रामचन्द्र सेढाईं, विश्व सुवेदी र रामकृष्ण ढकालको टोलीले पर्यटन आवागमनको अवस्थाका बारेमा पनि अध्ययन गरेको थियो । आर्थिक वर्ष ०७१÷७२ को संख्यालाई आधार मान्दा सौराहामा सबैभन्दा धेरै चिनिया पर्यटकहरु लगभग ६० प्रतिशत र अमलटारीमा सबैभन्दा धेरै अमेरिकी पर्यटक ३९ प्रतिशत आएको रामचन्द्र सेढार्इंले जानकारी दिए ।

सो आर्थिक वर्षमा कूल एक लाख ७८ हजार २५७ जना स्वदेशी विदेशी पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । निकुञ्ज घुम्नेमा सबैभन्दा धेरै विदेशी पर्यटक ७२ प्रतिशत हुने गर्छन् । सार्क क्षेत्रका पर्यटक आठ प्रतिशत र स्वदेशी पर्यटक २० प्रतिशत हुने गरेको निकुञ्जको तथ्याङ्कलाई उधृत गर्दै सेढाईंले बताए । सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज घुमेका थिए । अमलटारी आउनेहरु कमै हुन्छन् ।

सौराहाबाट कूलमध्ये ८९ प्रतिशत अर्थात एक लाख ५८ हजार ५०७ जना स्वदेशी विदेशी पर्यटकले निकुञ्ज प्रवेश गरेका थिए । जसमा विदेशीमध्ये ६० प्रतिशत चिनियाहरु रहेको सेढाईंले जानकारी दिए । सौराहामा चिनियापछि सबैभन्दा धेरै अष्ट्रेलियनहरुले निकुञ्ज घुमेको देखिन्छ । तर, उनीहरुको संख्या निकै थोरै छ प्रतिशत मात्रै रहेको सेढार्इंले बताए । सौराहा चिनियाहरुले धानेको देखिएको छ ।

अष्ट्रेलियनहरुपछि अमेरिकी, बेलायती, जर्मन, फ्रान्सेली पर्यटकहरु समान पाँच पाँच प्रतिशत छन् । बेल्जियम र सिंगापुरका समान चार चार प्रतिशत र क्यानडा तथा मलेसियाका पनि समान तीन प्रतिशत पर्यटकहरु चितवन निकुञ्जअन्तर्गत सौराहा प्रवेशद्वारमा घुम्न आएको तथ्याङ्कले देखाउँछ । चितवन निकुञ्ज घुम्न आउनेमध्ये दुई प्रतिशत अर्थात दुई हजार ८२२ जना पर्यटक अमलटारी पुगेको देखिन्छ ।

निकुञ्ज घुम्न अमलटारी जानेमा चिनिया भने देखिदैनन् । अमेरिकी पर्यटकहरु ३९ प्रतिशत, बेलायती २७ प्रतिशत, फ्रान्सका ११ प्रतिशत र जर्मन नौ प्रतिशत रहेका छन् । अष्ट्रेलियन चार, जापानी तीन, स्वीज्जरल्याण, नेदरल्याण र इटालीका समान दुई दुई प्रतिशत रहने गरेका छन् । अमलटारी जानेमा एक प्रतिशत पर्यटक क्यानडाका हुने गरेको अध्ययनले देखाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डा बजारबाट दक्षिण नारायणी नदी किनारमा रहेको अमलटारी गाउँ पछिल्लो समय थारू होमस्टेका कारण निकै चर्चामा छ । तर, त्यसै क्षेत्रमा टाइगर टप्स ग्रुपको थारू भिलेज लज र टेम्पल टाइगर जस्ता स्तरीय पर्यटक होटलहरु पनि रहेका छन् । त्यसैले अमेरिकी बेलायती पर्यटकको रोजाइमा सो क्षेत्र पर्न गएको हो ।

दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायतका जंगली जनावर, पंक्षी र जलचरहरु प्रशस्तै भएका कारण देश विदेशबाट पर्यटकहरु चितवन निकुञ्ज घुम्न आउँछन् । हात्ती चढेर जंगल घुम्नुका साथै डुंगा चढेर राप्तीमा रमाउने पर्यटकहरु पनि प्रशस्तै छन् । निकुञ्ज वरपर बस्ने आदिवासी थारू समुदायको संस्कार संस्कृतिले पनि पर्यटकहरुलाई चितवनमा लोभ्याउने गरेको छ ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका