राजविराज, पुस ८ –
सप्तरीको सदरमुकाम राजविराजमा आगामी पुस १० गतेदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीमा भारत्तोलन सङ्घ, सप्तरी र जिल्ला खेलकुद विकास समितिले संयुक्तरुपमा बिहीबार पत्रकारसम्मेलनमा सो कुरा बताइएको छ ।
भारोत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवले अगामी पुस १० गतेदेखि यहाँ सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गर्ने जनाउनुभएको छ ।
भारोत्तोलन सङ्घका केन्द्रीय सदस्य एवम् प्रशिक्षक दिनेश भुजेलका अनुसार महिलातर्फ सात र पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुने बताउँदै सो प्रतियोगितामा नेपालको पाँच विकास क्षेत्रका सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी एकसय २३ खेलाडीको सहभागिता रहने बताइएको छ ।
साथै, प्रशिक्षक, निर्णायक र व्यवस्थापक गरी दुईसय ४० जनाको सहभागिता रहने जनाइएको छ ।
यसैबीच, राष्ट्रिय प्रतियोगिताअन्तर्गत भारोत्तोलन प्रतियोगिता स्थल, खेलाडी, व्यवस्थापनका निर्णायक लगायतको खाना, होटल, लज, मेडिकललगायत आवश्यक सबै प्रबन्ध मिलाइसकेको जिल्ला खेलकुद विकास समिति, सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले जानकारी दिनुभयो । – रासस