चितवन, पुस १–
करिव पाँच वर्षपछि आन्तरिक हवाइ रूटको भाडा बढेको छ। सरकारको अनुमतिमा हवाइ सेवा सञ्चालकहरुले यही पुस ४ गतेदेिख लागु हुनेगरी ट्रंक र टुरिष्ट रुटको भाडा बढाएका छन्।
भाडा बढेपछि चितवनका दुई विहान स्थलको छुट्टा–छुट्टै भाडा दर निर्धारण गरिएको छ ।
निजी हवाइ सेवा संचालक संघका अनुसार अब काठमाडौंदेखि भरतपुरसम्म तीन हजार तीन सय रुपैयाँ नयाँ भाडा दर निर्धारण गरिएको थियो । यसअघि यस रुटमा दुई हजार सात सय २० रुपैयाँ भाडा दर थियो ।
यसैगरि लामो समयदेखि बन्द भएको पर्यटकिय क्षेत्र मेघौलीको विमानस्थल पुनः संचालनमा आएपछि त्यहाँको पनि नयाँ भाडा दर निर्धारण गरिएको छ । नयाँ भाडा अनुसार अब काठमाडौंदेखि मेघौलीसम्म तीन हजार ७ सय ९५ रुपैयाँ तोकिएको छ । यसअघि दुई हजार ७ सय ९५ रुपैयाँ भाडा दर रहेको थियो । यस मेघौली विमानस्थललाई टुरिष्ट सेक्टरको रुपमा राखिएको छ ।
गएको सोमबारमात्र पर्यटन मन्त्रालयले २४ प्रतिशतसम्म भाडा बढाउनको लागि अनुमति दिएको थियो।
प्रत्येक २ वर्षमा भाडा पुनरावलोकन हुनुपर्ने भए पनि पाँच वर्षपछि बल्ल भाडा बढेको हो। बजारको मूल्यबृद्धिका सबै पक्षलाई अध्ययन गरेर संचालकहरुले भाडा बृद्धिको माग गर्दै आएका थिए।
यस्तै ट्रंक र टुरिस्ट रुटमा भाडा बृद्धि गरेपनि दुर्गम रुटमा यथावत रहेको छ।