खोटाङ, मंसिर २१ –
खोटाङ, सदरमुकाम दिक्तेलबाट काठमाडौंँलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सुरु भएको छ ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गरेपछि सिधा यातायात सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै गत जेठमा झिकिएको बेलिब्रिज पुनः जडान गरेर मङ्गलबारबाट यातायात सुरु भएको हो ।
दोभान निर्माण सेवा प्रालिले रु ६० लाखको लागतमा जडान गरेको बेलिब्रिज हिउँदभर सञ्चालन हुने सञ्चालक झङ्कार खड्काले बताउनुभयो । बेलिब्रिज सञ्चालनमा आएसँगै काठमाडौँबाट खोटाङ्सम्म नियमित बस सञ्चालन भएको यातायात व्यवसायी सङ्घका जिल्ला सचिव रामकुमार हिङ्माङले बताउनुभयो ।
बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ओसारपसार गर्न सहज भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । विसं २०६६ मा सुरु गरिएको जयरामघाटस्थित पक्की पुल निर्माणमा ढिलाई भएका कारण त्यसको विकल्पमा बेलिब्रिज जडान गरिएको हो । – रासस