सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५ सय बढीले सेवा लिएका छन् । वडा कार्यालयमा सञ्चालित दुई दिने शिविरमा ५ सय ६८ जनाले सेवा लिएको वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मार्फत वितरण हुने राष्ट्रिय परिचयपत्र पछिल्लो समय गाउँपालिकाबाट वितरण हुँदै आएको छ । गाउँपालिका केन्द्र सम्म पुग्नका लागि वृद्धवृद्धा तथा अशक्त भएकाहरुलाई समस्या हुने भएकाले वडाको समन्वयमा गाउँपालिकाले वडा कार्यालयमा शिविर सञ्चालन गरि वितरण गरेको बताइएको छ ।
विकासको हिसाबले अब्बल मानिने थुलुङ दुधकोशी स्थानीय सरकार सेवा प्रवाहमा पनि उत्तीकै जिम्मेवार बनेर काम गरिरहेको भन्दै नागरिकले धन्यवाद दिने गरेका छन् । सदरमुकाम तथा गाउँपालिका सम्म पुगेर कष्टका साथ सेवा लिनु पर्ने भएपनि आफ्नै वडामा सेवा पाउँदा नागरिकले खुसी व्यक्त गरेका छन् ।