सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले ८३ करोड ८० लाख ९४ हजारको बजेट सार्वजानिक गरेको छ ।
आज मंगलबार सम्पन्न नगर सभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम, विनियोजन विधेयक,२०८२ र आर्थिक वर्ष २०८२/०८३ का लागि कर तथा शुल्क सङ्कलन गर्ने, छुट दिने तथा राजस्व सङ्कलनको प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न आर्थिक विधेयक,२०८२ पेश भएको नगर प्रबक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
बिनियोजन बिधेयक २०८२ मा चालु खर्च तर्फ रु ४८ करोड ९ लाख १० हजार र पूँजीगत खर्च तर्फ रु ३५ करोड ७१ लाख गरी कुल जम्मा रु ८३ करोड ८० लाख ९४ हजार व्यय हुने अनुमान पेश गरिएको प्रबक्ता शेर्पाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।
नीति तथा कार्यक्रममा क्षेत्रीय पहुँच विस्तारका लागि सडक स्तरोन्नति, कृषि यान्त्रीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि, सुत्केरी भेटघाटका क्रममा घरमै जन्म दर्ता प्रमाण पत्र सेवा उपलब्ध गराउने व्यवस्था र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न नगरपालिका तथा वडा कार्यालयका प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने कुरालाई प्राथमिकता दिइएको बिज्ञप्तिमा उल्लेख छ ।
नगर सभाको १६ औं अधिवेशनको दोस्रो बैठक यही असार ३१ गते दिनको १:०० बजेका लागि तय गरिएको पनि प्रबक्ता शेर्पाले बताए ।
सोलुदुधकुण्ड नगरपालिकाले प्रस्तुत गरेको बजेट पहिलो नगरसभा २०७४/७५ मा भन्दा झण्डै दोब्बरले बढी हो।सो नगरपालिकाले पहिलो नगरसभामा ४६ करोड ७३ लाखको बजेट प्रस्तुत गरेको थियो।आज प्रस्तुत २०८२/८३ को बजेट ८३ करोड ८० लाख ९४ हजार पुग्नुमा समयक्रमसंगै नगरपालिकाले आन्तरिक आम्दानी बढाउन र बाह्य स्रोत परिचालनमा गरेको प्रयासको परिणाम भएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाई छ ।
‘आगामी दिनहरूमा पनि स्रोतको दीगो व्यवस्थापन गर्दै नगरलाई श्रोतमा आत्मनिर्भर बनाउने हाम्रो अठोट यथावत् रहने छ,’ नगर प्रमुख शेर्पाले सामाजिक सञ्जालमा भनेका छन्।यस वर्षको बजेटमा शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, युवा रोजगारी,दिगो पूर्वाधार तथा वातावरण संरक्षण र सरसफाइलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।