मधेसको धुन

मधेसको धुन

नमन राई । सृष्टिको पहिलो बिहानदेखि
मेरो शिरमाथि थिच्दाथिच्दै धामले
धाम जस्तै फैलिएर बसेको म मधेस
भन
अब म कुन कठघरामा उभिदिउ ?

सदियौदेखि
एक हातमा लालपुर्जा
अर्को हातमा जङ्गे पिलर
समाएर उभिरहेको छु
देशको अन्तिम सिमानामा
भन
अब म कसरी हैन नेपाली ?

अचम्म त यो छ कि !
मेरो सरकार आजकाल
दिनहुँ मान्छेको बली चढाएर
ऊ आफैं भोग खान्छ

म मधेस !
हरेक दिन अपहेलित छु
तर
म त्यहि मानिसहरूको क्षेत्रफलको एक टुक्रा मस्तिष्क
एक मुठी सपना हुँ

तिम्रो जस्तै मेरा पनि लाखौं आयुहरुले हिडेका
मेरा दादाजीका तालु जस्तो देखिने
क्षितिजसम्म तन्किएका रास्ताहरु छन्
र ती रास्ताहरुका अनुहारमा
हिडाउनुछ अस्तित्वको स्वतन्त्र जुलुस
र नानीहरुको भविष्य चम्काइदिनुछ
सभ्यताको कागुनी बालाहरुमा

अनि तिमीले जस्तै फेरिदिनुछ
मैले पनि बाप्पुको धोती
माई र घरवालीको एक सरो फरिया
र नानीहरुको भोटो
नत्र जाडोभरि शितलहर ताप्न बाध्य हुनेछन्

बरु यहाँ ,
मेरो आवाज बन्द गरियोस्
सधैं तिम्रो न्यायलयहरु मौन बनुन्

तर थिचिएर बसेको म मधेस
निस्सासिएर एकदिन
बिस्फोट हुनेछु ज्वालामुखी
पुस्तौंदेखि-
मैले बजाउदै आएको घुगुरो फेदबानाम बजाएर
निकाल्नेछु यहीँबाट बिद्रोहको धुन
जसले तिम्रो सत्ताको कच्चा घर
ढलाउनेछ ।

(दोस्रो मधेस आन्दोलनमा लेखिएको कविता)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका