काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को एसईईको नतिजा यही साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यालयले साउन पहिलो हप्तामा नतिजा प्रकाशित गर्ने बताए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता सारेको हो ।
सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी रहेको स्रोतले जनाएको टा बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको जिषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले शुक्रबारसम्म नतिजा सार्वजनिक गरिने जनाए । ‘रुजुको काम नसकिएर केही दिन लम्बिएको,’ उनले भने, ‘शुक्रबारसम्म विद्यार्थीले नतिजा हात पार्छन ।’ बोर्डको पहिलो बैठकको रायसुझावको आधारमा मात्रै नतिजा सार्वजनिक गर्ने आन्तरिक समय तालिका तय गरिन्छ । नतिजा तयारीको अन्तिम काममा करिब ७० कर्मचारी खटिएका छन् ।
विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उनले जनाए । बोर्डका प्रादेशिक कार्यालयमा विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन । विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालयले आउनुपर्ने बाध्यता छ ।
यसपटक कोभिड महामारीको दुइर् वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।
यो वर्ष नयाँ लेटर ग्रेडिङ पद्दतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी छ । लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन ।