काठमाण्डौ । कराते रेफ्री पर्खी खालिङ्गले न्यूयोर्क कराते महासंघबाट चौथो डान प्राप्त गरेका छन् । न्यूयोर्कमा रहेको कराते स्कूलका संचालक तथा प्रमुख प्रशिक्षक राईले इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन आइएमए हेडक्वाटरबाट चौथौ डान पाएका हुन् ।
हेडक्वाटरमा खालिङ्गलाई आइएमएका संस्थापक हानसी साइरस मदानी र विश्व कराते महासंघ डब्लुकेफ रेफ्री कान्सिल सेक्रेटरी सिहान फारिवा मदानीले परिक्षा लिए पछि प्रमाण पत्र दिएका हुन् । कोलोराडोको लुइसभेलमा रहेको आइएमएको हेडक्वाटरमा भएको लिखित तथा प्रयोगात्मक परिक्षामा सफल भएपछि खालिङ्गले यो सफलता चुम्न पाएका हुन् ।
आइएमएबाट खालिङ्गले सन् २०११ मा पहिलो डान पाएका थिए । सन् २०१५ मा दोस्रो डान लिएका खालिङ्गले २०१८ को फेब्रुअरीमा हेडक्वाटरबाटै तेस्रो डान पाएका हुन् । अमेरिकामा आएर कराते सिकेर चौथो डान पाउने खालिङ्ग पहिलो नेपाली बनेका छन् । ‘आफैलाई अचम्म लाग्छ, कहिले काँही होर भन्ने जस्तो पनि लाग्छ ।’ चौथो डान प्राप्त पछि समाज टाइम्स सँगको कुराकानीमा खालिङ्गले बताए।
अमेरिका आए पछि सन् २००८ मा ३२ बर्षको उमेरमा खालिङ्गले कराते खेल्न शुरु गरेका हुन् । ‘पहिला ब्याल्कबेल्ड पाउदा पनि ओहो भन्ने लाग्थो, त्यस पछि झन झन मेहनत गरे, सिडि चढ्दै छु, हेरौ कहाँ सम्म पुग्छु ।’ खालिङ्ग भन्छन । जुन स्कूलमा कराते सिकेका थिए त्यही शुरुमा प्रशिक्षक बनेका खालिङ्ग अहिले मुख्य प्रशिक्षक र मालिक पनि हुन् ।
शुरुमा रहरमा करातेको रिङ्गमा छिरेका खालिङ्गलाई अहिले नशा मात्र होइन मुख्य पेशा पनि भएको छ । कराते स्कूलबाटै अमेरिकन जीवन चलाउन थालेको खालिङ्गको भनाइ छ । ‘मेरो लाइन नै होइन कराते तर समयले मलाइ यहाँ सम्म डोहोर्यायो अब त म करातेमै फुल टाइम भए त्यस कारण अझै उपल्लो डानका लागि पनि प्रयास गर्छु ।’ पाँचौ डानको परिक्षा दिन मात्र अब पाँच बर्ष कुर्नु पर्ने हुन्छ ।
हुन पनि कराते जीवनमा खालिङ्गको यात्रा लोभलाग्दो छ । गत डिसेम्बरमा मात्र लस भेगासमा भएको यूएस ओपनमा रिङ्ग म्यानेजरको भूमिका निभाएका खालिङ्गले युएसए नेश्नल कराते च्याम्पियनसिपको फाइनल समेत खेलाइ सकेका छन् । अमेरकी नेश्नल च्याम्पियनको फाइनल खेलाउने खालिङ्ग पहिलो नेपाली हुन् ।
राई सन् २०१९ मा करातेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्रि बनेका थिए । त्यस पछि उनलाई विश्व कराते महासंघ डब्लुकेएफ अन्तर्गत करातेको काता र कुमिते दुबै तर्फ विश्वभर हुने कराते प्रतियोगितामा निर्णायक बन्न पाउने बाटो खुलेको थियो ।
युवा अवस्थाको डिलमा खेलकुदमा लागेर यो सफलता पाउने कमै भाग्यमानीमा राई पर्दछन् । जवकी नेपालमा करातेको सस्थापक मध्येका केही र अन्य खेलमा पनि ख्याति कमाएहरु अमेरिका आए पछि गुमनाम छन् । तर नेपालमा खेलकुद सँग कुनै साइनो नभएका खालिङ्गले अमेरिकामा आफुलाई खेलकर्मी बनाएका छन् त्यो पनि सफल रुपमा ।
सोलुखुम्बुका खालिङ्गले अमेरिकन कराते महासंघबाट पनि तेस्रो डान पाएका छन् । अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने खालिङ्ग पहिलो नेपाली हुन् ।