असार १०, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एजेण्डा तय गर्दै सम्पन्न भएको छ। बुधबार बालुवाटारमा बसेको बैठकले एजेण्डा तय गरेको हो।
बैठकको प्रस्तावित कार्यसूची अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए। कार्यसूचीमाथि बैठकमा सहभागी सहभागी नेताले धारणा राखेका थिए। कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पहिलो एजेण्डा रहेको अन्नपूर्ण पोस्टको अनलाइन संस्करण ले जनाएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने जिम्मेवारीको विषयमा मन्तव्य राखेका छन् ।
बैठकले दोस्रो एजेन्डाको रुपमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका प्रयासलाई समेटेको छ। त्यस्तै, तेस्रो एजेण्डामा देशको सीमा समस्या समाधानको विषय समेटिएको छ भने चौथो एजेण्डामा सरकारको कामको समग्र समीक्षा समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यसैगरी पाँचौ एजेण्डामा पार्टीको कामको समीक्षा र एकीकरणको पूर्णताको विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।
छैटौ एजेण्डाको रुपमा एमसीसीको बारेमा छलफल हुने गरी कार्यसूची तय भएको हो। त्यसबाहेक विविध एजेण्डामा भने रुकुम घटना, नागरिकता सम्बन्धी विधेयकमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बुधबार अध्यक्षद्वयले सम्बोधन गरेपछि सकिएको बैठक असार १२ गते पुन बस्ने जनाइएको छ ।