†
ऊ एकादेशको राजकुमार
अनि म अर्को देशको राजकुमारी
फेसबुक, ट्वीटर र भाइबरमा
गफिदै बित्यो बर्षौं बर्ष,
यसरी नै लामो समयसम्म चिप्लिरह्यौं हामी
जिन्दगीको आफ्नै करौंतीहरुसँग ।
यहाँ जिउन सजिलो थिएन
दिन प्रतिदिन
उसकै माया बनेर पग्लिरहेको ‘म’
१०२ डिग्रीको प्रचण्ड तातोमा
उदाउन खोजें क्षितिजिय प्रभातसँग
अनुभवले अलिक कलिलो म ।
सकिनँ क्यारे समयमै जिन्दगीको हिसाब मिलाउन
त्यसैले त सम्झिएँ, सोचेँ अनि हिडें,
पुग्नलाई राजकुमारको देश
‘साकुरा’ र पैंयुचाको फूल बनेर ।
महासागर तर्न नसक्दा
प्रत्येक पल मृत्युवरण कस्दै
समय छोटिदा, म मरिनँ हौं
लाग्यो जिउनु लामो छ ।
एकमुठी श्वास उडाएर पठाए सिमलको भुवाबाट
भेट्नलाई एकादेशको राजकुमार
भुवाबाट ओर्लिदै एकमुठी श्वासले,
उसको अनुहारको रेखाचित्र पढिरह्यो,
शाश्वत सत्य प्रेमको गीत गाउदै।
अफ्सोच,
‘माया कति छ मैले देखिन’
उसको निर्दोष आँखामा अनि मनमा,
या त उसले देखाउन चाहेन
सम्बन्धको संभावना नदेखेर ।
फर्किएँ म विक्षिप्तताले भरिएको मन बोकेर
समयसँग आयु र परिवेश माग्दै
निजी आशा मात्रै बोकेर
सायद अब वेअर्थ नबन्ला
अवैधानिक अनुभवलाई वैधानिक बनाउदा ।
कवि बिमला राईसँग सामाजिक संजालमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।