झन्डै तीन वर्षदेखि ओरालो लागेको पुँजीबजार केही समयदेखि पुनः उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेन्जमा गएको साता नेप्से परिसूचक ९० अङ्क हाराहारीले बढ्यो । अघिल्लो साता एक हजार ३४४ रहेको नेप्से परिसूचक गएको साता एक हजार ४३४ बिन्दुमा पुग्यो । एकै साता यति धेरै सुधार भएको लामो समयपछि पहिलोपटक हो । कुनै बेला झन्डै एक हजार नौ सय बिन्दु हाराहारी रहेको नेप्से परिसूचक निरन्तर घट्दोक्रममा गयो । झन्डै एक वर्ष एक हजार दुई सयको हाराहारीमा अल्झियो । आइतबारमात्रै पनि नयाँ इतिहास कायम गर्दै तीन खर्ब ६० करोड रुपियाँको कारोबार भयो । नेप्से ६९ अङ्कले बढ्यो । नेप्से परिसूचकमा अहिले उकालो चढ्ने प्रवृत्ति देखापरेको छ तर साना र मध्यमखालका लगानीकर्ता अहिले पनि जोखिममुक्त छैनन् ।
नेप्से परिसूचकसँगै कारोबारमा पनि बढोत्तरी आएको छ । गएको एक सातामा ११ अर्ब २१ करोड रुपियाँ हाराहारीको कारोबार भएको छ । त्यसका अघिल्लो साता छ अर्ब ७० करोड रुपियाँ हाराहारीको कारोबार भएको थियो । कारोबारमात्र बढेको छैन, कारोबार भएको सेयर कित्ता हेर्दा पनि राम्रै बढोत्तरी भएको छ । गएको साता दुई करोड ५३ लाख कित्ता सेयर र त्यसको अघिल्लो साता एक करोड ६६ लाख कित्ता सेयर कारोबार भएको थियो । रकम र सेयर कित्ताको हिसाबले पनि आगामी दिन पुँजीबजार उकालो जान सक्ने देखिन्छ । यसबाट साना लगानीकर्ताको बजारमा पहुँच पुग्छ नै भन्ने यकिन भने छैन । भन्न त पुँजीबजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । तर, नेपाली पुँजीबजारले भने सदैव अर्थतन्त्रको ऐनाका रूपमा काम गरेको देखिन्न । यतिबेला सेयरका भाउ उर्लनैपर्ने खासै कारणहरू भने देखिन्न । विश्व अर्थतन्त्रमा कोराना भाइरस (कोभिड–१९) को प्रभाव देखिन थालेको छ । त्यसको असर विश्व पर्यटन बजारमा देखिन थालेको छ । नेपाल त्यसबाट पर रहन सक्दैन ।
भ्रमण वर्ष मनाइरहेको नेपालमा पनि कोरोना प्रभाव देखिन थालेको छ । पर्यटकको चहलपहल घट्न थालेको छ । पोखरा र सौराहाजस्ता पर्यटकीय गन्तव्यमा धेरै ‘बुकिङ’हरू रद्द भए । राजधानीको ठमेलजस्तो पर्यटकीय चहलपहल हुने मुख्य केन्द्रमै पर्यटकको गतिविधि घट्न थालेको छ । खासगरी चिनियाँ पर्यटकको हिस्सा बढ्दै गएको सन्दर्भमा कोराना प्रभाव बढी देखिएको छ । नेपालमा आउने चिनियाँ पर्यटक घट्दा त्यसको प्रत्यक्ष असर पर्यटन अर्थतन्त्रमा परेको छ । पर्यटन अर्थतन्त्रको आय, उत्पादन र लगानीसित सरोकार राख्ने हुँदा त्यसले समग्र अर्थतन्त्रमा प्रभाव पार्छ । विश्व अर्थतन्त्रमा सेयरबजारमा केही तत्कालीन र केही दीर्घकालीन असर देखिन थालेको छ । तर, नेपाल अर्थतन्त्रमा पनि कोरोना प्रभाव देखिने बेलामा सेयरबजार भने माथि उचालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले आपतकाल घोषणा गरेपछि धेरै देशमा हवाई गतिविधि घट्न थालेको छ । सन् २०२० पर्यटन अर्थतन्त्रका लागि त्यति उत्साहजनक देखिन्न र नेपालमा पनि त्यसबाट अलग हुने अवस्था छैन ।
सेयरबजारमा अहिले उभार आउनुका पछाडि धेरै कारण हुन सक्छन् । मूल कुरा तीन÷चार वर्षअघि उच्च मूल्यमा सेयर किनेर बस्ने लगानीकर्ता धेरै छन् । तीन वर्षअघि सेयरबजारमा नेप्से परिसूचक दुई हजार पाँच सय हाराहारी पुग्ने कतिपयको विश्लेषण थियो । नेपालमा नयाँ संविधान बनेको र निर्वाचनद्वारा नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास थियो । संविधान बन्यो, निर्वाचन भयो तर सेयरबजार भने निरन्तर ओरालो नै लागिरह्यो । लगानीकर्ताको पुँजी क्षयीकरण व्यापक हुँदा पनि सरोकार निकायले वास्ता गरेको देखिएन । बजारमा एक हजार सात÷आठ सय नेप्से परिसूचक हुँदा किनेका सेयरहरूको मात्रा व्यापक थियो ।
लामो समय घाटा सहेका लगानीकर्ताहरूले अहिले घाटा न्यूनीकरणका लागि पुनः सेयर किन्न थाल्दा पनि बजार माथि जान थालेको हुन सक्छ । उनीहरू एक हजार चार सयको हाराहारीमा अहिले सेयर किन्दा पहिले एक हजार सात÷आठ सयमा किनेको सेयरको घाटा न्यूनीकरण गर्ने विश्वास छ । अर्को कुरा अर्थतन्त्र व्यापार चक्रबाट चलेको हुन्छ । यो अर्थतन्त्रको प्रवृत्ति हो । सेयरबजार पनि त्यो अवस्थाबाट अलग छैन । तल ओरालो झरेको सेयरबजार अब माथि जान थालेको छ । नेपालको पुँजीबजारको विश्लेषण गर्नेहरू अब बजार बुलिस टे«न्डमा गएको ठान्छन् । जानकारका अनुसार नेपालमा यस्तो प्रवृत्ति विगतमा तीनदेखि साढे तीन वर्षसम्म कायम भएको थियो । पुँजीबजारमा एकैखालका मानिस जाँदैनन् । कतिपय हल्लाकै भरमा सेयर खरिद गर्ने हुन्छन् भने कतिपय माहिर खेलाडी हल्ला गराएरै नेपाली पुँजीबजारमा खेल्छन् । नेपाली पुँजीबजारको आकार खासै ठूलो छैन र ठूला लगानीकर्ता औँलामा गन्न सकिनेछन् । मध्यम र सानाखालका लगानीकर्ताको वर्चस्व छ तर सूचनाहरूको प्राप्ति, विश्लेषण गरेर बजारमा लगानी गर्ने मानिस कम छन् । त्यसमा पनि मध्यम र साना लगानीकर्तासँग त्यो पहुँच छैन । अहिले अनलाइन प्रणाली छ तर कुनैबेला लगानीकर्ताले घण्टौँ लाम बसेर लगानी गरेका कतिपय कम्पनीका सेयरहरू अहिले नाजुक अवस्थामा पुगेका छन् । बैङ्क, वित्त र बीमा कम्पनीहरूमा कतिपय राम्रो भए पनि जलविद्युत् कम्पनीहरूका अवस्था भने नाजुक छ । लागत बढ्ने र प्रतिफल न्यून हुँदा लगानीकर्ता ठगिएका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने थियो, जुन अझै बनेको छैन ।
लागत दोब्बर भइसक्यो । आकर्षक बनेको आयोजनाको त्यो हालत छ भने कतिपय कम्पनीहरूको एक सय रुपियाँको साधारण सेयरको मूल्य त्योभन्दा तल पुगेको छ । लघुवित्तका सेयरहरूको बजार मूल्य उच्च छ । केन्द्रीय बैङ्कबाट सहुलियत दरमा ल्याएको कर्जा महँगो ब्याजदरमा किसान तथा मजदुरलाई २०÷२५ प्रतिशतमा लगानी गरेको देखिन्छ । त्यसैका नाममा उच्च मूल्यमा सेयर कारोबार भएको देखिन्छ तर त्यसमा नीतिगत परिवर्तन हुँदा पर्ने प्रभावले लगानीमा प्रतिकूल असर पर्न सक्छ । सायद नेपाल राष्ट्र बैङ्कले यस्ता विषयलाई गम्भीर रूपमा हेरिरहेको होला । सरकारको पुँजीगत खर्च प्रभावकारी रूपमा नहुँदा पनि अर्थतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको छ । सरकारी ढुकुटीमा पुँजी थुप्रिएर अर्थतन्त्र चलायमान हुँदैन । चालु आर्थिक वर्षको बजेटसमेत एक खर्ब रुपियाँभन्दा बढीले घटेकोे छ । पहिलो छ महिनाको समीक्षापछि अर्थमन्त्रीले बजेटको आधार घटाएको हुनुपर्छ । बजेटका आकार घटेपछि र पुँजीगत खर्च न्यून देखिएपछि आर्थिक वृद्धिमा समेत असर पर्ने विश्लेषण हुन थालेको छ । चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य थियो । तर, मुस्किलले छ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुन नसक्ने प्रक्षेपण आउन थालेको छ ।
समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्लेषणले नेपाली पुँजीबजारमा अस्वाभाविक सुधार आउनुपर्ने देखिँदैन । सेयरबजारमा साना लगानीकर्ताभन्दा ठूला लगानीकर्ता नै जहिले पनि मुनाफामा हुन्छन् । जोखिम भार वहन गर्न सक्ने क्षमता उनीहरूमै हुन्छ भने व्याजदरको नीतिगत फाइदाको विश्लेषण पनि ठूलै लगानीकर्ताको पक्षमा हुन्छ । अतः कम्पनीहरूको वास्तविक अवस्था र विगतको विश्लेषण गरेर आफू ढुक्क भएरमात्र लगानीमा लाग्नु साना तथा मध्यम लगानीकर्ताको हितमा हुन्छ । गोरखापत्र
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)