एकलाश ठाउँमा
एउटा घाइते मन एक्लै बसेकोछ !
उसले
याङयाङ समुन्द्रले जूनलाई आफ्नो सम्झेँ झैँ;
बेसाइनो तिमीलाई आफ्नो सम्झन्थ्यो ।
मध्यरात –
आखिझ्यालबाट प्यालामा जून टिपेर
चुमिरहन्थ्यो
मातिरहन्थ्यो
लेखिरहन्थ्यो
एउटा स्वर्णिम प्रेमकथाभित्र तिमीलाई !
तिमी उदाउनुअघि –
बुद्ध जस्तै शान्त थियो याङयाङ
बतास बनेर तिमीले चुमेपछी,
मनमुटु हुदै तिमी बहेपछि;
मनमा छाल आएको हो ।
तलाउ याङयाङ समुन्द्र भएको हो ।
एकदिन-
नेपथ्यबाट आकाशमा
कालाकाला बादल आइपुगे ।
त्यहीँ दिनदेखि बेपत्ता भएको थियो ।
याङयाङको प्रिय जून !
अनि,
एकाएक सन्नाटाले छायो याङ्याङ !
भयानक आधी चल्यो मनमा !
मनलाई मुढाझै हुत्यायो बगरमा !
यसरी एकदिन
आधी बनेर आउछौ भन्ने थाहा पाएको भए,
तिमी बतास बनी आउनुअघि नै
चिस्याएर मन
बनाउने थियो `आइसल्यान्ड टापु ´
बनाउने थिएन
मनको वरिपरि किनार
लेख्ने थिएन तिमीलाई किनारैकिनार !
आदत बनिसकेछौ तिमी !
बगाई लानु सकेन,
आधीले तिमीलाई मनबाट ।
उस्तै भ्रममा बाचिरहन्छ
उस्तै छाल चलिरहन्छ
उस्तै किनारा बनाइरहन्छ …
किनारमा उभिएर तिमी
आफैलाई मेटेर
प्रेम कोरिरहेछौँ !
उत्सव मनाइरहेछौँ !
ढुंगा हानिरहेछौँ !
नरेन्द्र राईलाई फेसबूकमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।