गाउँले न्युज, १६ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलिले भट्टराईलाई मन्त्री नियुक्त गरेको भोलिपल्ट (आज) पेरिसडाँडा पुगेका हुन् । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् ।
यसैबीच, मन्त्री भट्टराई बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै बुधबार उनी लैनचौरस्थित सहिद स्तम्भ पुगेका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो । रवीन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।