गाउँले न्युज, २९ असार, सोलुखुम्बु । निरन्तर बर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौको यात्राामा निस्केका सयौ यात्रु अलपत्र परेका छन् ।
चार दिनदेखी निरन्तर बर्षा हुँदा हवाई सेवा ठप्प भएको छ । हावाई सेवाको एक मात्र विकल्पको रुपमा रहेको सडक मार्ग समेत विहिबार रातीको पहिरोले अवरुद्ध भए पछि यात्रु अलपत्र परेका हुन् ।
नागरिक उड्यन प्राधिकरण फाप्लुका अनुसार हाल करिब १२० जना भन्दा बढि यात्रु विमानको पर्खाइमा रहेका छन् । हवाई सेवाको एक मात्र विकल्प सडक मार्ग समेत बन्द भए पछि यात्रु अलपत्र भएको प्राधिकरण फाप्लुका निमित्त प्रमुख प्रभाश रञ्जनले बताए ।
मौसम खराबीको कारण उडान हुन नसेपछि खुम्बु क्षेत्रबाट पैदल मार्फत सल्लेरी हुदै सडक मार्ग मार्फत काठमाण्डौ जाने यात्रु समेत अहिले सल्लेरीमा नै रोकिएका छन् ।
अहिले सोलुखुम्बुबाट काठमाण्डौ जाने २ सय भन्दा बढि यात्रु सल्लेरीमै रोकिएको अनुमान गरिएको छ । सडक र हवाई सेवा बन्द हुँदा सोलुखुम्बु र काठमाण्डौको सञ्जाल टुटेको छ ।