ए मैनसफूल !
परको देशमा
एक भान्सामा
थकित औंलाहरु साग केलाउदै
केलाइरहेछन्, तिम्रो याद ।
तिमीलाई बर्षोबर्ष देख्न नपाएर
तिर्खाएका नयनहरु
कहिले हो कुन्नी ?
सागसँगै पखालिन्छन् ।
यो कन्कृट शहरमा
समयको खुबै अनिकाल छ
अक्सर –
चुलोलाई समय छैन ।
अघिल्लो साझ
निस्तो भात र राम्यन पाक्यो,
जिब्रोले बेस्सरी
तिम्रो सम्झना गरायो,
सम्झेरै पनि-
सम्झिएको अनुभुति दिलाउन
कहाँ पाइरहनु र
यो सहरमा त
चुपचाप चुपचाप सम्झिनुपर्छ !
चुपचाप चुपचाप बाच्नुपर्छ !
यात्रामा भेटिन्छन्,
तिमी जस्तैः आमाहरु
बाटो तिर,
बस तिर,
रेल तिर,
त्यतै तिर…
तिमीलाई खोज्ने गर्छु, म
बेलाबेलामा –
सपनाको बाटो भएर
सात समुन्द्र पारि
तिमी मलाई भेटिरहन्छौ
र पो
मन प्रेमले सिञ्चित भइरहन्छ ।
मैनसफूल (आमा) !
अब तिमीलाई सपनाको बाटो हिड्नुपर्दैन ।
अब म तिमीलाई भेट्न् आउदैछु …
याे कविता कवि काेरियामा रहदा लेखेका हुन् । अहिले उनी आमालाइ भेट्न नेपाल आएका छन् । कवि नरेन्द्रलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहाेस् ।