गाउँले न्यूज, ३ बैशाख, सोलुखुम्बु । सगरमाथा आरोहणका लागि सोमबारसम्म नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही सगरमाथा तर्फ लागेका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति पाएका छन् । यिनमा ७० महिला र २ सय ९० पुरुष छन् ।
नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । हालसम्म सबैभन्दा धेरै भारतका ८३, अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागिसकेका छन् ।
पर्यटन बिभागले आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको जनाएको छ । बसन्त रितुको सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर (करिब १२ लाख रुपैयाँ) आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महँगो हिमालको सूचीमा पर्छ । विदेशीका लागि बसन्त रितुमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउँद र बर्खायाममा २ हजार ७ सय ५० डलर मात्रै लिन्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ ।
सगरमाथा बाहेक अन्य १९ हिमाल आरोहन गर्न आरोही गैरहेका छन् । सोमबारसम्म ३ सय ३१ आरोहीले अनुमति लिएका छन् । १९ मध्ये सिन्धुपाल्चोक क्षेत्रमा पर्ने जुगल हिमशृंखला अन्तर्गत रहेको ग्याल्जेन पिक आरोहणका लागि गएका ६ मध्ये ३ जनाले आरोहण सकिसकेका छन् । विभागले सोमबारसम्म यी सबै हिमाल आरोहणका लागि ४६ करोड ५९ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।