सोलु–दुधकुण्ड नगरपालिका–१
म त त्यो युगको सिमनफुल,
उनी यो युगको सिमनफुल
ओहो ! युग नै पो फेरिएको रहेछ
र पो त सबै कुरा फेरिएको रहेछ !
म त बुढ्यौलीले खोकी हिड्ने मान्छे,
म त थोत्रो सोच बोकी हिड्ने मान्छे !
नपत्याए मलाई एकबार सोधिहेर्नु
विश्वास नभए एकबार घुरिहेर्नु–
मेरो तन उहीँ अल्लोको भाङ्रालेले बेरेको छु,
मेरो कपाल उहीँ बाँसको थाक्राले कोरेको छु,
प्रकृति प्रेमी म, प्रकृतिलाई नै पुज्छु,
प्रकृति जस्तै म, प्रकृतिमै हराउँछु,
भिरको सुनाखरीलाई सुन ठानी शिरमा लाउछु,
दुम्सीको काँडालाई फूल मानी फुर्का बनाउछु !
आहा ! यो युगको सिमनफुल !
चादनी हो कि सिमनफुल ?
कति सजिएको सिमनफुल ?
झपक्कै बलेको सिमनफुल
मेरो जलन ठान्यो क्यारे
कि त,
बेकामे बुढिया ठान्यो
सिमनफुल बोलिनन्
उनी बोल्दै बोलिनन्
मसंग भएको त्यही प्राकृतिक मुस्कान दिएं
तर उनले त मलाई त्यही कृत्रिम मुस्कान दिए
थाहा पाएं,
मैले जानें,
उनले लाएको त्यो नम्बरी सुन हैन,
देखाएको त्यो रुष्टता उनको गुण हैन,
छ महिने ‘वारेन्टी’ त्यो उनको सुन देखें,
कृत्रिम मुस्काउनु त्यो उनको गुण देखें,
सुनखरी फुल्ने पहरामा वस्ती बनिसकेछ
दुम्सी लुक्ने दुलोमा राष्ट्रघाती लुकिरहेछ !
अचेल,
शिरफुल्ल लाउन पहरामा सुनखरी छैन,
फुर्का लाउने दुम्सीको काँडा धरि छैन ।
त्यसैले पो,
यो युगको सिमनफुलले महिने वारेन्टी सुन लाउनु परेको,
यो युगको सिमनफुलले कृत्रिम मुस्कान फाल्नु परेको
सिमनफुललाई फेरि पनि देखें–
अंग्रेजीमा भाषण दिदै गरको देखें,
उनको भाषणमा धेरैले ताली पिटेको देखें,
जे होस् उनको बोली मजैले बिकेको देखें,
उनको अंग्रेजी भाषण नबुझे पनि,
युग गएको म थोत्रो मान्छे भए पनि
सिमनको छेवैमा बधाई दिन गएं,
बधाईसंगै प्राकृतिक मुस्कान दिएं
तर
फेरि पनि उनी बोलिनन्,
उनी बोल्दै पो बोलिनन्
भाषणमा विद्वान उनी,मसंग भने रुष्ट देखें,
हर–हमेशा दुखी रहने, मैले त उनको पृष्ठ भेटें
केही नपाएर पनि, खुसी रहने त्यो युग
अनि सबै भएर पनि, दुखी रहने यो युग,
त्यो युग र यो युग आज यसै दाज्न मन लाग्यो
यो युगको सिमनदेखि यसै हाँस्न मन लाग्यो
खुइया !
कस्तो कामै नगरी पनि थकाइ लाग्ने यो जमाना ?
दिनैभरि बाझो खन्दा पनि नथाक्ने त्यो जमाना,
यस्तो जमाना आए’सि त सिमन कसरी रुष्ट नहोस्
युगले दुखै ल्याए’सि कसरी दुख उनको पृष्ठ नहोस् ?
सिमनलाई फेरि त्यहा देखें,
देखेर पनि मैले नदेखे झै गरें,
उनको दुखी पृष्ठ मलाई थाहै छ
उनको बानी रुष्ट मलाई थाहै छ
उनको रुष्टताले टाउको दुखाउनु छैन मलाई
लहरे खोकीसंगै सिटामोल थप्नु छैन मलाई
आमा !
आहा ! क्या सुरिलो बोलीको गुञ्जन !
लाग्यो कि एउटा गीतकै संयोजन !
फनक्कै म उनीतिर फर्किएं
यसपल्ट मै उनीतिर झर्किएं
माफ रहोस् आमा !
माफ रहोस आमा !!
किराती भाषा मात्रै बोल्दा, मलाइ पाखे भनियो,
अंग्रेजी मात्रै बोल्दा, आफ्नै भाषा भुलियो,
आमा ! जब पहिलो पल्ट तिमीलाइ देखें,
तिमीमा मेरो एउटा ज्युदो इतिहास देखें,
तिमीले झैं पाङ्गा पटुकी बुन्न खोज्दा
तान लाउनै जानिनँ
तिमीले झैं आफ्नै भाषा बोल्न खोज्दा
अर्थ लाउनै जानिनँ
अब तिमी नै भन आमा !
अब तिमी नै बुझ आमा !
तिम्रो सामु यो शिर उठाइ कसरी म बसुँ ?
अन्तरमनको लज्जा छोपी कसरी म हासुँ ?
साभार : सुन्म्यासङ