गाउँले न्यूज, ५ चैत्र, सोलुखुम्बु । सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलबिद्युत उत्पादन गर्ने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर रभुँवाघाटमै ३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने भएको हो ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा पर्ने दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि उर्जामन्त्रालय अन्तरगत विद्युत विकास विभागले उक्त क्षमताको जलविद्युत उत्पादन गर्न विद्युत प्राधिकरणलाई अनुमती दिएको आयोजना प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उक्त योजनाको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपिआर तयार भएपछि ठेक्का आव्हान गरेर यसै वर्षबाट निर्माणको काम शुरु गरिने श्रेष्ठले बताए ।
रभुँवाघाटमा ड्याम (ताल) निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावर हाउस (विद्युत गृह)मा खसालिने जनाइएको छ । करीब रु. एक खरब ५० अरबको लगानीमा सम्पन्न हुने आयोजनाको ड्याम २१० देखि २३० मिटर गहिरो हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।
रभुँवाघाटमा निर्माण गरिएको ड्यामदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने ड्यामले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।
अधिकांश भूभाग खोटाङमा पर्ने भएकाले आयोजना सञ्चालन गर्दा सबैभन्दा बढी खोटाङ बासी जनता विस्थापित हुने र सेवासुविधा पनि खोटाङ्गे नै पाउने देखिएको छ । बहुउद्देश्यीय योजना सहित सञ्चालन गर्न लागिएको दुधकोशी हाईड्रोपावर देशको अन्य आयोजना भन्दा कम खर्चमा सम्पन्न हुने अनुमान गरिएको छ ।
सन् २०२४ सम्ममा काम सक्ने गरी शुरु गरिएको आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “दूधकोसी हाईड्रोपावरका लागि उर्जामन्त्रीदेखि राष्ट्रपतिसम्मले चासो देखाएको छ ।” “आर्थिक वर्ष २०७५ र ०७६ को मध्यसम्ममा टेन्डर आह्वान र सम्झौता गरी आर्थिक वर्ष २०७६/०७७ देखि निर्माणको काम शुरु हुन्छ ।”
दूधकोसी हाईड्रोपावर सञ्चालनका लागि एसियाली विकास बैङ्क (एडीबी)ले लगानी गर्ने जनाइएको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातवारणीय परीक्षण र टेन्डरका काजपत्र बनाउन एडीबीले चालू आर्थिक वर्षमा रु. ३५ करोड अनुदान दिएको थियो ।
आयोजनाका लागि नेपाल विद्युत प्राधिकरण र एडीबीका अधिकारीबीच भएको पटकपटकको बैठकमा एडीबीले प्रस्ताव गरेको जनाइएको छ । आयोजनाका लागि अहिले वातावरणीय परीक्षण, सडक निर्माण, सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी, मुआब्जा वितरणका लागि पहल लगायतको काम भइरहेको छ ।
तीन जिल्लाकै सबैभन्दा ठूलो आयोजना दूधकोसी हाईड्रोपावरको हालसम्मको प्रगति तथा निर्माण क्षेत्रमा देखा परेका चुनौतिका बारेमा सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराइएको छ । प्रतिनिधिसभा सदस्य भट्टराईले आयोजना गर्नुभएको छलफल कार्यक्रममा ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, पूर्व सभाषद् समिता कार्की ‘अस्मिता’, राजनीतिक दलका प्रतिनिधि, आयोजना प्रमुख श्रेष्ठ, दातृ निकायका प्रतिनिधि लगायत सहभागी हुनुभएको थियो ।
दूधकोसी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाज समेत गठन गरिएको छ । सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ ।
आयोजना सञ्चालनका लागि गत जेठ १६ गते ऊर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूबाट विजयी प्रतिनिधिसभा सदस्यहरू, विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक, विद्युत विभागका महानिर्देशक सम्मिलित बैठकले उक्त आयोजनाको डिपिआर गर्ने टुङ्गो लगाएको थियो । सुरुङ निर्माणका लागि गत जेठ १० गते हिमाल कन्स्ट्रक्सन–वाइबा इन्फ्राटेक जेभीले विस्फोटको काम गरेको थियो ।
आयोजनास्थलको प्रगतिबारे बुझ्न प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ जेठ ५ गते दूधकोसीस्थित रभुँवाघाट आउनुभएको थियो । जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजना अन्तर्गत २०४२ सालमा दूधकोसी हाईड्रोपावर आयोजना सञ्चालन गर्न सकिने पहिचान गरेको थियो ।
आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ । जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ ।