काठमाण्डौ-४, पौष । गायक राजेश पायल राईलाई “नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७५” प्रदान गरिएको छ । उनलाई नातिकाजीको ९३ औं जन्मजन्यतीका अवसरमा नातिकाजी स्मृति समाजले ११ हजार रुपैयाँ सहित सो पुरस्कार प्रदान गरेको हो । उनीसँगै गीतकार सुवासचन्द्र ढुंगेल, गायिका मीना निरौला लगायतलाई पनि संगीत पुरस्कार दिइएको थियो ।
राईले पुरस्कारबापत पाएको ११ हजार रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने बताए । राईले नातिकाजीको संगीतमा झन्डै एक दर्जन गीत गाएका छन् । अर्को साल ती पुराना गीतहरूको एल्बम सार्वजनिक गर्ने योजनामा रहेको पनि बताएछन् । चारिएर रहेका सबै गीतलाई जम्मा पारेर एल्बम बनाउने बताए ।
समाजले गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान प्रदान गर्यो । गायक प्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, गीतकार डा. भोला रिजाल, गायक रमेश ताम्रकार, गीतकार अरुण सायमि र पत्रकार पुष्करलाल श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’ दियो । द्विराज शर्माले भने नातिकाजी स्मृति समाज योगदान सम्मान प्राप्त गरे । स्रष्टाहरूलाई राष्ट्रकवि घिमिरेले सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।
स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजीको सम्मान र उनका सिर्जनाको व्याख्या, विश्लेषण र चिन्तनका लागि समाज स्थापना गरेको बताए । समारोहमा नातिकाजीले संगीतबद्ध गरेका ‘फूलको थुंगा बगेर गयो…’, ‘आजै र राति के देखेँ सपना…’ लगायत गीत प्रस्तुत गरिएका थियो ।