काठमाडौं, २६ कात्तिक । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुका लागि प्रवेश शुल्कवापतको रकममा अत्याधि बृद्धि गरेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले विरोध गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ र क्याम्पिङ गर्ने पर्यटकबाट प्रतिव्यक्ति प्रतिरात २ हजार रुपैयाँका दरले शुल्क उठाउन थालेको र नेपाली गाईडलाई प्रवेश गरेबापत १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।
सरकारले पर्यटन क्षेत्र नै धरासायी हुने गरी अराजक कार्य गरेको भन्दै जथाभावी शुल्क उठाउने यसखालको कार्यलाई तत्काल बन्द नगरे आफुहरु आन्दोलित हुनुको विकल्प नरहेको चेतावनीसमेत दिएको छ । र, आन्दोलनले निम्त्याउने सबैखाले परिणामको जिम्मेवारी नेपाल सरकार स्वयंले नै लिनु पर्नेसमेत टानको भनाइ छ ।
टानले एक प्रेस विज्ञप्ती जारी गर्दै देश संघीयतामा गएसँगै यसरी प्रत्येक महिना जस्तो मुलुकका विभिन्न भागमा रहेका पदयात्रा क्षेत्रहरुका स्थानीय तह तथा राष्ट्रिय निकुञ्जहरुले पूर्व सूचना विना आफुशुखी शुल्क लिने गरेकोप्रति आपत्ति जनाएको हो । ‘पर्यटकलाई मात्रै सिकारको रुपमा प्रयोग गरेर यसबाट पर्ने दीर्घकालिन असरको कुनै ख्यालै नगरी पर्यटन क्षेत्रलाई नै अस्तव्यस्त र ध्वस्त बनाउने जस्ता गैर जिम्मेवारी पूर्ण कार्य तत्काल बन्द गराउन नेपाल सरकारसँग हामी जोड्दार माग गर्दछौं ।’ टानका अध्यक्ष नवराज दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
सोही विज्ञप्तीमार्फत टानले खुम्बु पासाङल्हामु गाउँपालिकाले त्यस क्षेत्रमा रहेको टिम्स काउण्टर जबरजस्ती बन्द गराई प्रति पर्यटकबाट २ हजार रुपैयाँ लिने गरेको र स्थानीय सरकारको दबाबमा त्यहाँका होटलहरु तथा लजहरुले खानाको र पदयात्रा सहयोगीहरुको शुल्क तोक्नु गैर जिम्मेवारपूर्ण कार्यको पराकाष्ट भएको आरोपसमेत लगाएको छ । यस प्रकारको अराजक कार्य मनास्लु क्षेत्रमा पनि बढेकोले यसको गहिरो र नकारात्मक असर समग्र पर्यटन क्षेत्रमा पर्न गएको टानको ठम्याई छ ।