पहिलो खालिङ सगरमाथा आरोही चन्द्रश्वर खालिङ सम्मानित

पहिलो खालिङ सगरमाथा आरोही चन्द्रश्वर खालिङ सम्मानित

जेठ, २०७५ – पहिलो खालिङ सगरमाथा आरोही चन्द्रश्वर खालिङलाई किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । संघले शनिबार नवदुर्गा पार्टीप्यालेसमा एक कार्यक्रम आयोजना गरी खालिङको परम्परागत भेषभूषा फ्याङगा र फुर्का लगाएर उनलाई बधाई ज्ञापन गरेको हो ।

बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै आरोही खालिङले आउँदो सिजनमा फेरी सगरमाथा चढ्ने उद्घोष गरे । अनेकन चुनौतिहरुको सामना गरेर सगरमाथाको आरोहण गरेको बताउँदै उनले भने ‘खालिङले पनि सगरमाथा चढ्न सक्छ भन्ने प्रमाणित गरेको छु । हिमाल चढ्दाको सुख दुःखका विभिन्न क्षणहरु क्षण तर, सगरमाथा चुमेपछिको खुशी शब्दमा व्यक्त गरेर सक्दिन ।’ उनले आफ्नो मन्तव्यको क्रममा सगरमाथा आरोहणको क्रममा सहयोग गर्ने भिम रसाईली, शंखर खालिङ, कम्पनी अनि आफन्तजन, शुभेच्छुक शुभचिन्तकहरुप्रति धन्यवाद ज्ञापन गरे ।

खालिङ संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले समुदायको लागि सर्वोच्च शिखर सगरमाथाबाट नयाँ सन्देश प्रवाह गरेको भन्दै बधाई ज्ञापन गरे । निरन्तर संघर्ष अनि विभिन्न चुनौतिहरुको सामना गरेर सगरमाथा चुम्ने सपना पुरा गरेको उल्लेख गर्दै उनले आगामी दिनमा थप कीर्तिमानको लागि शुभकामनासमेत व्यक्त गरे । अध्यक्ष खालिङले संघको आउँदो महाधिवेशनमा उनलाई विशेष सम्मान गर्ने घोषणासमेत गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष धन खालिङ, निवर्तमान महासचिव प्रकाश खालिङ, संरक्षक सांग राई, यूवा नेता गंगाबहादुर थापामगर, खालिङ आमा समुहका अध्यक्ष सिता राईलगायतले खालिङ समुदायको प्रतिनिधित्व गर्दै चन्द्रश्वर खालिङले सगरमाथाको चुचुरो पुगेर प्रेरणादायी सन्देश प्रवाह गरेको बताए ।  बक्ताहरुले आरोही खालिङले ‘मेरो खालिङ्गेनी आमाले आफ्नै हातले बुनेको फेङगा’ सगरमाथा चुचुरोमा फहराउनु सिंगो समुदायको लागि गौरबको विषय भएको बताउँदै यसले समुदायको पहिचान थप उजागर गर्न योगदान पुग्ने विश्वासमेत व्यक्त गरे ।

आरोही खालिङ सोलुखुम्बु फुलेलीमा जन्मेका हुन् ।  विगत लामो समयदेखि पेशेवर पर्वतारोहीको रुपमा कार्यरत खालिङले २०७५ साल जेठ ८ गतेको दिन विहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर खालिङ समुदायकै पहिलो सगरमाथा आरोहीको रुपमा कीर्तिमानी कायम गरेका हुन् ।

विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा पथ प्रदर्शक र पछिल्लो समय नेपाल पर्बतारोहण संघबाट विशेष पर्बतारोहण सम्बन्धी तालिम लिएपछि उनले बिदेशी पर्वतारोहीहरूलाई शिखरमा र्पुयाउने क्लाइम्बिङ गाइडको रुपमा काम गर्दै आइरहेका थिए ।

सगरमाथा चढ्नुअघि उनले नेपाल पर्बतारोण संघअन्तर्गतका पिकहरुमध्ये पिसाङ् पिक (६०९१  मिटर), चुलु इष्ट (६४२९ मिटर), चुलु वेष्ट (६४१९ मिटर), मेरा पिक (६६५४ मिटर), इस्ल्यान्ड पिक (६१८९ मिटर) र लबुचे पिक (६११९ मिटर) को सफल अरोहण गरेर नेपाल पर्वतारोहण संघ र नेपाल सरकारबाट विभिन्न प्रमाणपत्रहरु प्राप्त गरिसकेका छन् ।

सोही अवसरमा मगर समुदायकै सबैभन्दा कान्छो आरोही नर्विन मगरलाईसमेत खादा लगाएर बधाई ज्ञापन गरिएको थियो । –

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका