दिपेन्द्र अधिकारी
चितवन,फागुन ६ –
चितवन जिल्लामा चालु आर्थिक वर्षमा तीन अर्ब ६० करोड बढी विकास खर्च बजेट रहेकोमा जम्मा ८८ करोड २० लाख ११ हजार रूपैयाँ खर्च भएको छ ।
आर्थिक वर्षको सात महिना काटिसक्दा जम्मा १९ प्रतिशतमात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकृत भानुभक्त दवाडीले जनाएका छन् । राष्ट्रियस्तरमा माघसम्म १६ दशमलव ९६ प्रतिशत पूँजीगत खर्च भएको छ । चितवनमा विकास खर्चतर्फ पहिलो चौमासिक अवधिमा कूल २८ करोड ८५ लाख ९६ हजार रूपैयाँ खर्च भएको थियो ।
चालु आर्थिक वर्षमा कूल विकास बजेट तीन अर्ब ६१ करोड २८ लाखमध्ये जम्मा ८८ करोड मात्र खर्च हो । २८ करोडमध्ये पनि १९ करोड ३२ लाख मुग्लिन नारायणगढ सडक सुधार आयोजनाको रहेको कुल बजेटमध्ये जम्मा १९ प्रतिशत मात्र खर्च भएको हो । विकास बजेटको तुलनामा चालु तथा प्रशासनिक बजेट पाँच गुणा बढी खर्च भएको छ ।
इतिहासमै पहिलोपटक आर्थिक वर्ष सुरू हुनुभन्दा डेढ महिनाअघि बजेट आए पनि बजेट कार्यान्वयन पराम्परागत शैलीमा हुँदा विकास खर्च सन्तोषजनक भएको पाइदैन । दोस्रो चौमासिक केही मात्रामा र तेस्रो चौमासिकमा अत्यधिकरुपमा विकास बजेट खर्च हुने गर्दछ । चालु आर्थिक वर्षको बजेट गत जेठ १५ मै प्रस्तुत गरिए पनि खर्चको अख्तियारी साउन १ गतेमात्र पठाइएको थियो । अख्तियारी ढिलो पठाउँदा चाँडो बजेट आउनुको फाइदा लिन सकिएको छैन ।
कार्यालयहरुले पहिलो चौमासिकसम्म कार्यक्रम छनौट गर्ने र स्वीकृत गर्ने पुरानै प्रवृत्ति यस वर्ष पनि कायम राखेका छन् । प्राय विकास कार्यक्रमहरु दोस्रो चौमासिकमा राखिने पराम्परा रहेको छ ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा चालु खर्चतर्फ तीन अर्ब ७८ करोड ४२ लाख १८ हजार रूपैयाँ खर्च भएको छ । चालु खर्चतर्फ कूल वार्षिक बजेट पाँच अर्ब ५१ करोड ७४ लाख ५५ हजारमध्ये झण्डै चार अर्ब खर्च भएको हो । यस बजेट कर्मचारीको तलब भत्तामा जाने गर्दछ ।
त्यस्तै चालु आवको यस अवधिसम्ममा झण्डै १० अर्ब राजस्व संकलन भएको छ । कार्यालयका अनुसार ९ अर्ब ९८ करोड १० लाख रूपैयाँ राजस्वमार्फत आम्दानी भएको छ ।
पूँजीगत शीर्षकको बजेट खर्च नहुने समस्या समाधान गर्न आउने आर्थिक वर्षको बजेट खर्च गर्ने अख्तियारी अर्थ मन्त्रालयले बजेट पेस भएको भोलिपल्ट जेठ १६ गते नै पठाउने भएको छ । बजेट जेठ १५ गते संसद्मा पेस हुन्छ ।